१५ असार २०८३, सोमबार

भारतीय लोकसभामा राहुलको सम्बोधनका क्रममा हंगामा, ८ विपक्षी सांसद निलम्बित

माघ २०, २०८२
काठमाडौं
भारतीय लोकसभामा राहुलको सम्बोधनका क्रममा हंगामा, ८ विपक्षी सांसद निलम्बित

भारतीय तल्लो सदन लोकसभामा विपक्षी नेता राहुल गान्धीको सम्बोधनलाई लिएर लगातार दोस्रो दिन पनि हंगामा भएको छ। मंगलबार पूर्व सेना प्रमुख एम.एम. नरवणेको अप्रकाशित पुस्तकको एक लेख सदनमा प्रस्तुत गर्न खोज्दा सत्तापक्ष र विपक्षबीच विवाद उत्पन्न भएको हो।

राहुल गान्धीले राष्ट्रिय सुरक्षाको मुद्दामा बोल्न खोज्दा एनडीएका सांसदहरूले अवरोध गरेपछि सदनको वातावरण तनावपूर्ण बनेको थियो।
विवाद बढ्दै गएपछि आक्रोशित बनेका विपक्षी सांसदहरू नाराबाजी गर्दै सदनको बीचभाग (वेल) मा पुगेका थिए। सो क्रममा केही सांसदहरूले सभामुखको आसनतर्फ कागजका टुक्राहरू समेत उछालेका थिए।

सदनको मर्यादा उल्लंघन गरेको र कार्यसूचीमा अवरोध पुर्‍याएको आरोपमा ८ जना विपक्षी सांसदहरूलाई बाँकी सत्रभरका लागि निलम्बन गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सभामुखले राहुललाई बोल्न रोकेर अन्य दलका नेताहरूलाई समय दिएपछि विपक्षी दलहरूले त्यसको कडा प्रतिवाद गरेका थिए।

सांसदहरूको निलम्बनपछि राहुल गान्धी र प्रियंका गान्धीसहितका विपक्षी नेताहरूले संसद परिसर बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

राहुल गान्धीले सभामुख ओम बिरलालाई पत्र लेख्दै आफूलाई विपक्षी नेताको रूपमा राष्ट्रिय सुरक्षा जस्तो महत्त्वपूर्ण विषयमा बोल्न नदिनु लोकतान्त्रिक परम्पराको उल्लंघन भएको दाबी गरेका छन्। उता, प्रियंका गान्धीले सांसदहरूको निलम्बनलाई 'हास्यास्पद' भन्दै सरकारले विपक्षीको आवाज दबाउन खोजेको आरोप लगाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्