३१ असार २०८३, बुधबार
भूजल दोहनको असर

पुनर्भरणभन्दा दोहन बढी, तराईमा भूमिगत पानीको संकट

असार १५, २०८३
बुटवल
पुनर्भरणभन्दा दोहन बढी, तराईमा भूमिगत पानीको संकट

रूपन्देहीको सियारी–४ छपिया निवासी गौरव गौतमले यसपालि यसअघि कहिल्यै नभोगेको पानीको अभाव भोग्दै छन् । दशकौँदेखि पानी आउने गरेको उनको चापाकलमा गत वर्षदेखि पानी आउन छाडेको छ । ‘म तराईमा जन्मे/हुर्केको मान्छे हुँ, चापाकलमा पानी सुकेको मैले थाहा पाएदेखि यसअघि जानकारीमा थिएन । पानीको यस्तो समस्या कहिल्यै थिएन,’ गौरव भन्छन् ।

माछापालनको केन्द्र मानिने छपियामा वैशाख अन्तिम सातादेखि चापाकलमा पानी सुक्न थालेको थियो । तराई/मधेशमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन चापाकल हो । वैशाखदेखि सुरु भएको चापाकल सुक्ने समस्या असार दोस्रो सातासम्म पुग्दा झनै बढेको छ ।

भैरहवा निवासी रवीन्द्रप्रताप गुप्ता यो वर्ष विगतको भन्दा चापाकलमा धेरै पानी घटेको सुनाउँछन् । ‘चलाउँदा–चलाउँदा मुस्किलले अलिअलि मात्र झर्छ, चापाकलमा पानी नआउनु भनेको भैरहवा क्षेत्रमा पानीको संकट गहिरिनु हो,’ उनले भने । खानेपानीको समस्या उत्तरवर्ती क्षेत्रमा मात्रै नभई बिस्तारै दक्षिणवर्ती क्षेत्रमा समेत सुरु भइसकेको छ । रूपन्देहीको उत्तरी क्षेत्र तिलोत्तमा र बुटवलका धेरै क्षेत्रमा वैशाखमै ‘ग्राउन्ड वाटर’ सुक्न थालेको थियो । पछिल्ला वर्षहरूमा झन् बढ्दै गएको यो समस्या तत्कालै निम्तिएको भने होइन । भूमिगत पानीको सतह तल जान थालेकाले यो संकट उब्जिएको हो ।

भूमिगत पानीको अत्यधिक र असन्तुलित प्रयोग र त्यसको अनुपातमा पानी पुनर्भरण नहुँदा तराई क्षेत्रमा पानीको संकट गहिरिँदै गएको हो । तराईका सहर र सहरउन्मुख क्षेत्रमा पानीको मुख्य स्रोत भूमिगत पानी नै हो । विगत पाँच/सात वर्षयता भूमिगत जलभण्डारको अधिक दोहनका कारण लुम्बिनी प्रदेशका बुटवल/भैरहवा, घोराही, तुलसीपुर, नेपालगञ्ज, कपिलवस्तु र तौलिहवाजस्ता घना बस्ती भएका प्रमुख सहरमा भूमिगत पानीको स्रोत घटेको छ । जसले गर्दा अहिले खानेपानी उपभोक्ता समितिमा हालका बोरिङले पानी नतानेको भन्दै गुनासो आउने क्रम बढेको छ ।

खानी तथा भूगर्भ विभागका सिनियर इन्जिनियर नारायण बाँस्कोटा वन क्षेत्रको विनाश र चुरेमा जथाभाबी खानीजन्य पदार्थ उत्खननले गर्दा पानीका मूल सुकेको बताउँछन् । ‘जमिनमा रिचार्ज गर्ने क्रम घट्दो छ, पहिलेजस्तो आजभोलि पानी पर्न छाड्यो,’ इन्जिनियर बाँस्कोटा भन्छन्, ‘जमिनको पानी तान्ने काम मात्र भयो, भर्ने काम भएन । जमिनमा अब सिँचाइमार्फत पुनर्भरण गर्न आवश्यक छ । डिप बोरिङ आवश्यकताभन्दा धेरै भए । अब यसको जडानलाई रोक्नुपर्छ । कुलो र नहरमार्फतको सिँचाइलाई तराईमा प्रवर्द्धन गर्न आवश्यक छ ।’

null

पाँच वर्षअघिसम्म ट्युबवेल जडान गर्दा ३५ फिट गहिराइमा भेटिने पानीको सतह पाउन अहिले १०० फिटभन्दा तल जानुपर्छ । यो अवस्था बर्सेनि बढ्दै गएको छ । बोरिङबाट तानेर वितरण भइरहेको पानीको अभाव भएपछि सहरी जनजीवन प्रभावित भएको छ । यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रूपन्देही र विभिन्न स्थानीय तहले पिउने पानीबाहेक अरू कामको लागि बोरिङ प्रयोग नगर्न सचेत गराएका छन् ।

जनप्रतिनिधिले आफ्नो पालिका र जनतालाई रिझाउन आफ्नो क्षेत्रमा जथाभाबी बोरिङको योजना बाँड्दा भूमिगत पानीमा असर गरिरहेको छ । कुनै निश्चित एरियामा कति वटासम्म बोरिङ जडान गर्न मिल्ने र पानी कति परिमाणमा निकाल्न सकिने भन्ने कुनै नीतिनियम बनाएको पाइँदैन । मनलाग्दी रूपमा भूमिगत पानी निकाल्ने योजनाले पछिल्लो अवस्था आएको वातावरण इन्जिनियर डा. खेटराज दाहाल बताउँछन् । मुलुक सङ्घीयतामा गएपछि तीन तहका सरकार र जनप्रतिनिधिबीच खानेपानी र सिँचाइको नाममा चापाकल तथा बोरिङ वितरणमा प्रतिस्पर्धा चलेकाले समस्या आएको उनको भनाइ छ ।

तर, सरकारले खानेपानी वितरण, सेवा विस्तार र जलवायु अनुकूलित प्रणालीमा ठूलो लगानी गरेको देखिए पनि प्राकृतिक मुहान संरक्षण, भूजल पुनर्भरण, जलाधार संरक्षण र तराईका जलचर संरक्षणका बारेमा अहिलेसम्म नसोचेको उनले बताए । यस्तै खानेपानी उपभोक्ता समितिले पनि यस्ता कार्यक्रममा खासै चासो दिएका छैनन् । बरु पुरानो बोरिङबाट पानी आएन नयाँ खन्नुपर्‍यो भन्दै मन्त्रालय धाउने र नयाँ पाइप थप्न बजेट खर्चिने गर्छन् ।

null

डिभिजन खानेपानी कार्यालय योगीकुटीका प्रमुख प्रकाश केसीले सुक्खा याममा केही समस्या हुने गरे पनि वर्षायाममा यो तहको समस्या देखिनु गम्भीर चिन्ता र जोखिमको विषय रहेको बताए । अहिले खानेपानी र स्यालो ट्युबवेल जोडिएका क्षेत्रमा धेरै समस्या रहेको भन्दै उपभोक्ता गुनासो गर्न आउने क्रम बढेको उनले बताए । अहिले रूपन्देहीका १३० को सङ्ख्यामा रहेका खानेपानी उपभोक्ता समितिहरूमध्ये लगभग सबैजसोले पहिलेका पम्पबाट पानी नआएको भन्दै नयाँ बोरिङको माग गरिरहेका छन् ।

भूमिगत पानी प्राकृतिक रूपमा वर्षाको पानी जमिनभित्र पुनर्भरण (रिचार्ज) भएपछि कायम रहने स्रोत हो । तर, पछिल्ला वर्षहरूमा तीव्र सहरीकरण विस्तारले घर/आँगनदेखि नाली, सडक र सार्वजनिक क्षेत्रलगायतमा पक्की संरचना बनेका छन् । अन्नभण्डार मानिने तराईमा विकास, रोजगारी र शिक्षाको आकर्षणका कारण पहाडबाट बसाइँसराइले गर्दा जनसङ्ख्याको चाप तीव्रतर रूपमा बढेको छ । पहिला घरहरू कम थिए, पानीको प्रयोग पनि थोरै हुन्थ्यो । बसाइँसराइको यो क्रमले तराईमा स्रोतसाधनको उपयोगमा चाप पारेको छ । जनसङ्ख्या बढेसँगै नदीनालाबाट निर्माण सामग्रीको अनियन्त्रित दोहन र भूमिगत पानीको खपत बढेको छ ।

जनघनत्व वृद्धिसँगै भौतिक विकासका क्रममा कङ्क्रिटको संरचना निर्माण तीव्र हुँदा जमिनको पुनर्भरणमा अवरोध हुँदै गएको छ । पानीको प्रयोग बढी र कम वर्षा हुँदा खेतीपातीका लागि किसान भूमिगत पानीमा अत्यधिक निर्भर हुन थालेका छन् । यसका साथै चुरे दोहन रोक्ने, वृक्षरोपण गरेर हरियाली बढाउने, कङ्क्रिट संरचनालाई सक्दो नियन्त्रण गरी पानी सोस्ने क्षेत्र बढी राख्ने, अनियन्त्रित बसोबास व्यवस्थित गर्ने र भूमिगत पानी निकाल्ने मापदण्डबारे कार्यविधि बनाउनेतर्फ अग्रसर हुनुपर्ने डा. दाहाल बताउँछन् ।

null

अव्यवस्थित सहरीकरण र वन फँडानीका कारण जमिनले पर्याप्त मात्रामा वर्षाको पानी सोसेर भित्र पठाउन सकेको छैन । आकाशबाट परेको पानी जमिनले सोसेर भित्र भण्डारण हुने हो । ठूला नदीबाट बिस्तारै सोसेर भूमिगत पानी भण्डारण हुने हो । तर, अहिले भण्डारण हुने पानीभन्दा प्रयोग हुने मात्रा बढी भइरहेको छ । भूमिगत पानी तान्दा कलधारा अथवा बोरिङले प्वाल पार्ने ठाउँमा पानी ओइरिएर जाने भएपछि वरिपरि पानी घट्ने गर्छ । पूर्व–पश्चिम राजमार्ग बनेपछि नदीजन्य वस्तुलगायत प्राकृतिक स्रोतको अति दोहन हुनुका साथै काठ तथा दाउराका लागि वनहरू मासिएका छन् ।

अहिले देखिएको पानीको अभावलाई सम्बोधन गरिएन भने भविष्यमा त्यसले गम्भीर समस्या निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी छ । घरायसी प्रयोगदेखि खेतीपातीसम्मका लागि पानीको प्रयोग भविष्यमा अझ बढी हुने देखिएकाले अहिले नै गम्भीर हुनुपर्ने उनीहरूको भनाइ छ ।

वन कार्यालयका सूचना अधिकारी केशव खड्का भू–जल पुनर्भरणका लागि चुरे र महाभारत क्षेत्रमा पनि पोखरी निर्माण आवश्यक रहेको बताउँछन् । अर्घाखाँचीभरका सामुदायिक वनमा अहिले पानीको जोहो गर्ने तथा भू–जल पुनर्भरण बढाउने उद्देश्यले प्रकृतिमैत्री पोखरी निर्माण अभियान थालिएको उनले बताए । स्थानीय सरकार र नागरिकको संयुक्त पहलमा पानीको स्रोत संरक्षण र पुनर्भरणलाई जीवनशैली बनाउनुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्