०४ असार २०८३, बिहीबार

सिरिन्ज प्रहार गरी वृद्धको हत्या गर्ने व्यक्ति बीपी प्रतिष्ठानका एमबीबीएस विद्यार्थी भएको पुष्टि

माघ २३, २०८२
विराटनगर
सिरिन्ज प्रहार गरी वृद्धको हत्या गर्ने व्यक्ति बीपी प्रतिष्ठानका एमबीबीएस विद्यार्थी भएको पुष्टि

झापाको भद्रपुर नगरपालिका-१० त्रिवेणी टोलमा एक वृद्धको सिरिन्ज प्रहार गरी हत्या भएको छ । बिहीबार साँझ करिब ६:२० बजेको समयमा ६६ वर्षीय खेमराज ढकालको आफ्नै घरमा हत्या भएको हो ।

प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा २६ वर्षीय दिपेश कुमार सिंहलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ । सिरहाको विष्णुपुर गाउँपालिका-१ स्थायी घर भएका सिंह सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा)मा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

मृतक ढकाल बिहीबार साँझ आफ्नो परिवारसँग घरमा बसिरहेको अवस्थामा अभियुक्त सिंहले आफूसँगै ल्याएको रसायन (केमिकल)लोड गरिएको सिरिन्जले ढकालको घाँटीमा अचानक प्रहार गरेका थिए । सिरिन्ज प्रहारबाट गम्भीर घाइते भएका ढकाललाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सिरिन्जमा प्रयोग गरिएको तरल पदार्थमा कुन कुन घातक तत्व मिसाइएको थियो भन्नेबारे प्रयोगशाला (ल्याब)परीक्षणपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले बताए ।

अनुसन्धानका क्रममा अभियुक्त सिंह सोही दिन बिहान पनि मृतकको घर पुगेको खुलेको छ । उनले बिहान अवकाश प्राप्त शिक्षक चाहिएको छ, खोजिदिनुपर्‍यो भन्दै बहाना बनाएर ढकालको घर पत्ता लगाएको बुझिएको खड्काले बताए । 

मृतककी छोरी पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन् । अभियुक्त र मृतककी छोरीबीच सामान्य चिनजान रहेको भए तापनि ८–९ महिनादेखि उनीहरूबीच विवाद रहेको पाइएको छ ।

पीडित पक्षका अनुसार ८–९ महिनाअघि सिंहले मृतककी छोरीको चरित्र हत्या गर्ने नियतले फोटो सम्पादन (इडिट) गरी पठाउने र मानसिक तनाव दिने गरेका थिए । सो सम्बन्धमा पीडित परिवारले इलाका प्रहरी कार्यालय धरानमा सिंहविरुद्ध उजुरी समेत दर्ता गराएका थिए । सोही पुरानो रिसइबीका कारण सिंहले योजनाबद्ध रूपमा बुवाको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनालगत्तै खटिएको जिल्ला प्रहरी कार्यालय झापाको टोलीले अभियुक्त सिंहलाई पक्राउ गरेको छ । उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ‘ज्यान सम्बन्धी कसुर’ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्