१५ असार २०८३, सोमबार

पीएम कप : प्रदेशस्तरीय छनोटमा महोत्तरीको शानदार जित

माघ २३, २०८२
काठमाडौं
पीएम कप : प्रदेशस्तरीय छनोटमा महोत्तरीको शानदार जित

 राजविराजमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) अन्तर्गत आज सम्पन्न खेलमा महोत्तरीले उत्कृष्ट प्रदर्शन गर्दै धनुषामाथि ६० रनको प्रभावशाली जित दर्ता गरेको छ । प्रतियोगितामा महोत्तरीको यो पहिलो जित हो ।

     सप्तरी क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत भएको खेलमा टस जितेर धनुषाले पहिले फिल्डिङ रोज्दै महोत्तरीलाई ब्याटिङको निम्तो दिएको थियो । ब्याटिङको अवसर पाएको महोत्तरीले संयमित प्रदर्शन गर्दै ४७ ओभर ३ बलमा सबै विकेट गुमाएर १६७ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो ।

    महोत्तरीका लागि आदित्य मण्डल र राजकुमार सहनीले समान २७÷२७ रनको योगदान दिए । श्याम मण्डलले २२ रन बनाउँदा अभिषेक तिवारीले १४ रन जोडेका थिए । अन्य खेलाडीले सानो–सानो योगदान गरेपछि महोत्तरीले सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । बलिङतर्फ धनुषाका अभिजित मण्डलले २ विकेट लिन सफल हुँदा अखिलेश ठाकुरले १ विकेट झारेका थिए ।

    १६८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको धनुषाले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन ।  महोत्तरीका बलरहरूको कसिलो बलिङका कारण धनुषा २७ ओभर १ बलमै सबै विकेट गुमाएर मात्र १०७ रनमा सीमित हुन पुगेको थियो । धनुषाका लागि मयन यादवले सर्वाधिक ३९ रन बनाए ।

    श्याम रायले १७ रन र रूपेश यादवले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क पार गर्न सकेनन् । महोत्तरीको जितमा रमेश सहनीले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । उनले ९ ओभर बलिङ गर्दै २ मेडन राखी मात्र २५ रन खर्चेर ४ विकेट हात पारे । आकाश मण्डलले ३ विकेट लिए भने अभिषेक तिवारी १ विकेट लिन सफल भए । उत्कृष्ट प्रदर्शन गरेका महोत्तरीका रमेश सहनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भएको सप्तरी क्रिकेट सङ्घका सचिव चन्दनकुमार यादवले जानकारी दिए ।
 
    उनलाई सप्तरी क्रिकेट सङ्घका सदस्य वीरेन्द्रकुमार यादवले नगद एक हजार ५०० सहित ट्रफी प्रदान गरेका थिए । प्रतियोगिताअन्तर्गत शनिबार धनुषा र महोत्तरीबीच पुनःप्रतिस्पर्धा हुने तालिका रहेको छ । प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छन् । 

salt training

कमेन्ट गर्नुहोस्