
९ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा मुछिएका अभिनेता राजपाल यादवले फेब्रुअरी ५ मा दिल्लीस्थित तिहाड जेलमा आत्मसमर्पण गरेका थिए । आत्मसमर्पण गर्नु अघि उनले अदालतमा भावुक अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए,‘सर, म के गरूँ ? मसँग पैसा छैन, कुनै उपाय देखिएको छैन । यहाँ हामी सबै एक्लै छौँ, यो समस्यासँग मलाई आफैँ जुध्नुपर्छ ।’
राजपाल यादवको उक्त भनाइ सार्वजनिक भएपछि अभिनेता सोनु सूद सहयोगका लागि अघि आएका थिए । अब बलिउडका सलमान खानदेखि वरुण धवनसम्मका कलाकारले पनि राजपाल यादव एक्ला नरहेको सन्देश दिएका छन् । फिल्म उद्योग उनको साथमा उभिएको देखिएको छ ।
‘स्क्रीन’सँगको कुराकानीमा राजपाल यादवका प्रबन्धक गोल्डीले उद्योगका धेरै प्रतिष्ठित व्यक्तिले सहयोगका लागि सम्पर्क गरेको खुलासा गरेका छन् । उनले भने, ‘राजपाल यादवको सहयोगका लागि धेरैले मसँग सम्पर्क गर्नुभएको छ । सोनु सूददेखि सलमान खान र अजय देवगनसम्मले समर्थन जनाउनुभएको छ । मेरो डेविड धवनसँग पनि कुराकानी भएको छ । रतन नैन, वरुण धवनलगायत अन्य कलाकारहरू पनि यो अप्ठ्यारो घडीमा सहयोगका लागि अघि आउनुभएको छ । जसका लागि राजपाल यादव अत्यन्त आभारी छन् ।’
गोल्डीका अनुसार सम्पूर्ण फिल्म उद्योग राजपाल यादवको पक्षमा दृढतापूर्वक उभिएको छ । उनले थपे, ‘सबैले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ, तर यस्ता प्रक्रियाहरू एकै रातमा पूरा हुँदैनन् ।’
उक्त अन्तर्वार्तामा प्रबन्धक गोल्डीले राजपाल यादवलाई चाँडै जमानत प्राप्त हुने आशा व्यक्त गरेका छन्। उनले भने, ‘उनको जमानतसम्बन्धी सुनुवाइ भोलि (१२ फेब्रुअरी) हुनेछ । हामी आशावादी छौँ कि भोलि नै उनलाई जमानत मिल्नेछ । जमानतका लागि आवेदन दर्ता गरिसकेका छौँ । थप विवरण सुनुवाइपछि मात्र सार्वजनिक गर्न सकिन्छ ।’
राजपाल यादवको यो कठिन समयमा कलाकार मात्र नभइ प्रशंसकहरू पनि साथमा उभिएका छन् । उनका समर्थकहरूले ‘अता–पता लापता’ फिल्म पुनः प्रदर्शन गर्न मागसमेत गरेका छन् ।