०८ असार २०८३, सोमबार

भ्रामक सूचनाको पछि नलागेर एचपीभी खोप लगाउन सरकारको आग्रह

फागुन ३, २०८२
काठमाडौं
भ्रामक सूचनाको पछि नलागेर एचपीभी खोप लगाउन सरकारको आग्रह

सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन आग्रह गरेको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्राडा. रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागी किशोरीहरूलाई खोप लगाउन आग्रह गरेका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ २५ देखि यही फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने अभियान शुरू गरेको छ । 

‘आधारहिन हल्ला र भ्रममा नलागौं । अरुका कुरा सुनेर आफ्ना बालिकाको स्वास्थ्यसँग खेलवाड नगरौं । आफ्नो स्वास्थ्यको संरक्षणका लागि खोप लगाऔं’, अध्यक्ष प्राडा. अधिकारीले भने, ‘एचपीभी खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त तथा औषधि व्यवस्था विभाग, नेपालबाट स्वीकृत सुरक्षित खोप हो ।’

अभियानअन्तर्गत गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरीलाई खोप लगाइने छ । अध्यक्ष डा. अधिकारीले विफर उन्मूलन र पोलियो जस्ता रोगको रोकथाम खोप नै रहेकाले ढुक्क भएर किशोरीलाई खोप लगाउन आग्रह गरे ।

‘विफरले बर्सेनि धेरै व्यक्तिको ज्यान लिएको थियो । पोलियोले धेरै बालबालिकालाई जीवनभरका लागि अपाङ्गता बनाएको थियो । लहरे खोकी, डिफ्टेरिया, टिटानस जस्ता रोगले हाम्रो बाल मृत्युदर उच्च बनाएको थियो । आज ती रोगहरू नदेखिनु संयोग होइन । यो खोपको सफलता हो’, उनले भने, ‘खोप भनेको रोग लागेपछि उपचार होइन, रोग लाग्नै नदिनु हो ।’

वर्षौंदेखिको प्रयासपछि नेपालले एचपीभी खोप ल्याउन सफल भएको उल्लेख गर्दै एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर रोगबाट हाम्रा छोरी–नातिनीहरूको भविष्य सुरक्षित गर्ने उनको भनाइ छ । 

अभियानअन्तर्गत सरकारले तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने छ ।    
 

salt training

कमेन्ट गर्नुहोस्