२८ जेठ २०८३, बिहीबार
पोखराका विभिन्न वडा घुमेपछि...

चुनावी ‘ग्राउन्ड जिरो’ कास्की– २ : नेतृत्वमाथिको प्रश्नले एमालेको गढमै रश्मिलाई सकस !

पोखरा–३३ को खुकुरी काण्डदेखि २१ को बाँदर आतंकसम्म
चुनावी ‘ग्राउन्ड जिरो’ कास्की– २ : नेतृत्वमाथिको प्रश्नले एमालेको गढमै रश्मिलाई सकस !

पोखरा महानगरपालिका वडा नम्बर २१ बाँजीपोखरीकी इन्द्रकला भण्डारीले आजसम्म एकै चिह्नमा मत हालिन् । तर, यसपटक उनको मन बदलिएको छ ।

यो वडा कास्की क्षेत्र नम्बर २ मा पर्छ । कास्की २ नेकपा (एमाले)को पुरानो गढ हो । २०६४ सालमा तत्कालीन नेकपा (माओवादी)को पक्षमा देशव्यापी लहर आउँदासमेत यो भूगोलबाट एमालेका युवा नेता रवीन्द्र अधिकारी (हाल स्वर्गीय)ले चुनाव जितेका थिए ।

रवीन्द्र लगातार ३ पटक निर्वाचित भए । पर्यटनमन्त्री छँदा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी उनको निधन भयो । त्यसपछि २०७६ मा भएको उपनिर्वाचन र २०७९ को नियमित निर्वाचन दुवैमा रवीन्द्रकी धर्मपत्नी विद्या भट्टराई विजयी भइन् ।

यो क्षेत्रबाट एमालेले अहिले प्रभावशाली युवा नेता रश्मि आचार्यलाई उम्मेदवार बनाएको छ । कानून र अन्तर्राष्ट्रिय सम्बन्धसमेत अध्ययन गरेका रश्मि ‘पीएचडी स्कलर’ हुन् ।

अब्बल उम्मेदवार हुँदाहुँदै पनि कास्की २ मा एमाले पहिलोपटक रक्षात्मक देखिएको छ । त्यही भाव इन्द्रकलाको अभिव्यक्तिमा पनि झल्किन्छ ।

‘सबैको बोली घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न) भन्ने छ । आजसम्म एमाले थियौं । अर्काको चिह्नमा छाप लगाएका छैनौं । अहिले घण्टी भनेर बसेका छौँ ।’

null

रास्वपाले पूर्वपत्रकार उत्तमप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।

इन्द्रकलाले आफ्नो गाउँको नाम नै एमाले डाँडा रहेको सुनाइन् । ‘यो एमालेको गढ भएकाले सबैले एमाले डाँडा भनेका हुन्,’ उनले भनिन् ।

इन्द्रकलालाई थाहा छैन, रास्वपाबाट उम्मेदवार को छ । तर, मत परिवर्तन गर्ने भनेर बसेकी छन् । ‘अब घन्टीले केही गर्छ, देश बनाउँछ कि ? जुन पार्टी आउँछन्, तपाईंलाई नै दिन्छौं भन्छौं, तर भोट केमा हाल्ने भनेर मन बनाइसकेका छौं । घण्टीबाट को उठेको छ थाहा छैन, तर छोराहरूले त्यसैमा भोट हाल्ने भनेका छन्,’ उनले निष्कर्ष सुनाइन् ।

null

उनको घर स्वर्गीय रवीन्द्र अधिकारीको घरबाट धेरै टाढा पर्दैन । ‘रवीन्द्र भएको भए यहाँ केही हुन्थ्यो । गर्‍यो पनि । तर, गतिलो मन्छेलाई बाँच्न दिँदैनन्,’ उनी भावुक बनिन् ।

उनीसँगै बसिरहेकी निममाया भण्डारीले रवीन्द्रपत्नी विद्या गाउँ आउन छाडेको गुनासो गरिन् । ‘कति रैछन् विद्याका जनता, उसले जित्दा धेरै खुशी भए । तर, गाउँ आउन छाडिन्,’ उनले भनिन्, ‘बरु रवीन्द्र आम्थ्यो घर–घरै, सञ्चो–बिसञ्चो के छ भनेर सोध्थ्यो ।’

इन्द्रकला, निरमायासहित यो क्षेत्रका अधिकांश पुराना एमाले मतदाताको गुनासो पार्टी नेतृत्व (अध्यक्ष केपी शर्मा ओली)सँग छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ बागमाराका एक दम्पतीले पनि एमालेको वर्तमान नेतृत्वका कारण आफूहरूको मन मरेको बताए ।

null

‘रवीन्द्रका पालामा यहाँ धेरै विकास भयो । यो बाटो (अगाडिको सडक देखाउँदै) पारेकै रवीन्द्रले हो । विद्यालाई पनि हामीले जिताएर पठाएका हौं । उनले काम गर्न खोजेकै हुन्, नेतृत्वले नदिएपछि राजीनामा दिइन्,’ नाम नलेखिदिन आग्रह गर्दै एक पुरुष मतदाता (पति)ले भने, ‘यो नेतृत्व छँदासम्म एमालेलाई मत दिन मन छैन । हामीले के गर्ने भन्ने मन बनाइसकेका छौं ।’

null

उनीहरू दुवैले एमालेका वर्तमान उम्मेदवार रश्मि आचार्य व्यक्तिगतरूपमा योग्य रहेको बताए । तर, पार्टीको नेतृत्व परिवर्तन नभएकोप्रति उनीहरूको गुनासो छ । ‘कांग्रेसले देउवालाई हटायो । युवा आएका छन् । तर, एमालेमा यो नेतृत्व छँदासम्म कसैले काम गर्न सक्दैन,’ दुवैको साझा निष्कर्ष सुनाउँदै उनकी पत्नीले भनिन् ।

पोखरा ३३ पुनिटारका बमबहादुर बानियाँको गुनासो पनि खासै फरक छैन । उनले एमालेको वर्तमान नेतृत्वका कारण आफू निष्क्रिय बसेको बताए ।

‘हामी २०४६ देखि नै एमाले हो, अहिले निष्क्रिय बसेको छु,’ बानियाँले भने, ‘मलाई एमालेको वर्तमान नेतृत्व ठीक लाग्दैन ।’

null

पोखरा महानगरपालिका २१ कै अर्का एक पुरुष मतदाताले पनि एमाले नेतृत्वप्रति गुनासो गरे । ‘एमाले उम्मेदवार रश्मि आचार्य हाम्रो ठाउँका लागि राम्रो हुन्, तर ओलीकै कारण उनलाई घाटा छ,’ नाम बताए पनि नलेखिदिन आग्रह गर्दै उनले भने, ‘गगनले पार्टी जोगायो, एमालेले ओली जोगायो, पार्टी सकायो ।’

उनले पार्टी नबदल्ने, तर मत बदल्ने निष्कर्षमा आफू पुगेको सुनाए । ‘पार्टी नबदल्ने, यथावत बस्ने, तर मतचाहिँ बदल्ने,’ उनले भने, ‘के गर्छन्, ५ वर्ष हेरौं न ।’

पोखरा ३३ खैरेनीका माधव कँडेलले पनि त्यस्तै विचार व्यक्त गरे ।

‘रवीन्द्र नमरेको भए उसले केही गर्थ्यो, रवीन्द्र मर्नु नै कास्कीको दुभार्ग्य भयो । ओलीका कारण एमाले पनि सकियो,’ कँडेलले आफ्नो निष्कर्ष सुनाए ।

null

एमालेको गढ मानिने पोखरा महानगरपालिका वडा नम्बर २१ र ३३ का मतदाताको आम मनोविज्ञान हो यो । माथि उल्लेख गरिएका केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् ।

हामीले यी २ वडाका विभिन्न बस्तीमा पुगेर कुराकानी गर्दा अधिकांशले एमाले उम्मेदवार आचार्यलाई युवा र योग्य व्यक्तित्वका रूपमा चिनाए । तर, पार्टीको नेतृत्वप्रति निकै गुनासो गरे  ।

बजार झरेपछि....

पोखरा बजार झर्दा मतदातामा मिश्रित मनोविज्ञान पाइयो । यो क्षेत्रमा एमालेबाट रश्मि आचार्य, नेपाली कांग्रेसबाट माधवप्रसाद बास्तोला, नेपाली कम्युनिस्ट पार्टीबाट हेमबहादुर पराजुली, रास्वपाबाट उत्तमप्रसाद पराजुली, राप्रपाबाट हेमजंग गुरुङसहित १२ दल र ५ स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दिएका छन् ।

null

हामीले पोखरा बजार क्षेत्रमा एमाले, कांग्रेस, रास्वपा, प्रगतिशील लोकतान्त्रिक पार्टीदेखि उज्यालो नेपाल पार्टीका उम्मेदवारको नाम लिने व्यक्तिसमेत भेट्यो । यहाँ प्रलोपाले दीपक भण्डारी र उज्यालो नेपालले कुशल गुरुङलाई उम्मेदवार बनाएका छन् ।

पोखरा ८ सिमलचौरका नरबहादुर थापाले आफूहरूले विगतमा एमालेलाई मत दिँदै आएको बताए । एमाले अध्यक्ष ओलीसँग गुनासो गरेका उनले मतदानका लागि बुथमा पुगिसकेपछि अन्य चिह्नमा जान हात काँप्न सक्ने बताए ।

पोखरा ८ पुरानो एयरपोर्टका झलकप्रसाद रिमालले नयाँप्रति आशंका व्यक्त गर्दै कांग्रेसका माधवप्रसाद बास्तोलालाई मत दिने बताए ।

null

पोखारा १७ रातो पहिरोका उमापति शर्माले यसपटक कांग्रेस, एमाले र रास्वपाबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने विश्लेषण गरे । आफ्नो टोल छिमेकको माहोल हेरेर विश्लेषण गरेका शर्मा मतदाता भने स्याङ्जाका रहेछन् ।

पोखरा १७ तल्लो रातो पहिरोका चन्द्रबहादुर आलेले प्रलोपाका दीपक भण्डारीको नाम लिए । उनी डा. बाबुराम भट्टराईसँग प्रभावित भएर प्रलोपामा लागेका रहेछन् ।

पोखरा १६ बाटुलेचौरका ९५ वर्षीय चित्रबहादुर थापाले एक भोट घण्टी (प्रत्यक्ष) र एक भोट हलो (समानुपातिक)मा हाल्ने बताए ।

null

पोखरा ११ तुलसीमार्गका हरि बरालले आफूले विगतमा कांग्रेसलाई मत हाल्दै आए पनि आफ्ना छिमेकी (कुशल गुरुङ)उज्यालो नेपाल पार्टीबाट उठेकाले दोधारमा परेको बताए ।

माथि उल्लेख भएका नाम र त्यसबाहेक पनि हामीले कुरा गरेका अन्य मतदाताको मनोविज्ञानबारे अर्को अंकमा विस्तृतमा लेख्नेछौं ।

पोखरा बजार क्षेत्रमा त्यहीँका खास मतदाता भेट्न निकै मेहनत गर्नुपरेको थियो ।

हामीले गल्ली–गल्ली छिरेर जति पनि मतदाता भेट्यौं, तीमध्ये अधिकांश पुराना दलसँग असन्तुष्ट र नयाँ दलसँग पनि सशंकित रहेको पायौं ।

उम्मेदवार नचिन्ने घण्टीका मतदाता

कास्की २ मा पोखरा महानगरपालिकाका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ पर्छन् । हामीले यीमध्ये ७, ८, १६, १७, २१ र ३३ का विभिन्न बस्तीमा पुगेर मतदातासँग कुराकानी गर्‍यौं । घण्टी चिह्नमा मत दिन्छु भन्ने अधिकांशले उम्मेदवारको नाम बताउन सकेनन् । ‘कन्फ्युज’ मतदाताहरू पनि रास्वपा उम्मेदवार उत्तमप्रसाद पौडेलप्रति अनभिज्ञ देखिए ।

null

पोखरा २१ बाँजीपोखरीका इन्द्रकला र निरमाया भण्डारी, पद्मा गिरी, पोखरा ३३ चिसापानीका रामचन्द्र त्रिपाठीदेखि पोखरा १६ बाटुलेचौरका चित्रबहादुर थापासम्मले रास्वपालाई मत दिने बताए पनि उम्मेदवारको नाम बताउन सकेनन् ।

माथि उल्लेख गरिएका प्रतिनिधिमूलक नाम मात्र हुन्, अधिकांशले घण्टी चिह्न तथा रवि लामिछाने र बालेन शाहको मात्र नाम लिए । उत्तम पौडेलबारे केही बताउन सकेनन् ।

जनताका समस्या– ३३ को ‘खुकुरी काण्ड’देखि, २१ को बाँदर आतंंकसम्म

पोखरामा पछिल्लो समय फोहोर व्यवस्थापनको विषय निकै विवादित बनेको छ । एक महिनाभन्दा बढी समयदेखि नियमित फोहोर उठ्न सकेको छैन ।

केही दिनयता सेती किनारमा अस्थायी व्यवस्थापन गरिएको छ ।

पोखरा महानगरपालिकाले ३३ नम्बर वडाको तल्लो पुडीमा फोहोर प्रशोधन केन्द्र बनाउने योजना अगाडि सारेको छ । तर, स्थानीय विरोधमा छन् ।

प्रशोधन केन्द्रले आफ्नो ठाउँमा प्रदूषण बढाउने भनेर त्यस आसपासका बासिन्दा आक्रोशित सुनिए । साथै, प्रशोधन केन्द्र बनाउने जग्गामा बिचौलियाको चलखेल भएको विषयले पनि विवादको आगोमा घिउ थप्ने काम गरेको हामीले पायौं ।

null

पोखराका मेयर धनराज आचार्य र ३३ नम्बर वडाका वडाध्यक्ष रामचन्द्र अधिकारीको भूमिकाप्रति स्थानीय शंशकित छन् । यो विवाद यति अगाडि बढ्यो कि केही समयअघि पोखरा ३३ को वडा कार्यालयमा ‘खुकुरी काण्ड’समेत मच्चिएको थियो ।

‘फोहोर प्रशोधन केन्द्र बनाउने निर्णयको विरोधमा स्थानीयले वडा कार्यालयमा ताला लगाएका थिए । कार्यालय प्रवेश गर्न नपाएपछि वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी निकालेर प्रहार गरे । एक जनालाई त औंलामा थोरै लाग्यो पनि,’ पोखरा ३३ का एक मतदाताले लोकान्तरसँग भने, ‘मुख्य दलहरूले प्रशोधन केन्द्रको विरोध गरेका छन्, तर खुकुरी काण्डले दलहरूप्रति आक्रोश भने बढाएको छ ।’

null

पोखरा २१ बाँजीपोखरीकी ५५ वर्षीया पद्मा गिरीले बाँदरले आजित बनाएको बताइन् । ‘यहाँ केही बाली लगाएर खानै नपाइने भयो । कोदोबाहेक अरू केही लगाउनै नमिल्ने अवस्था छ,’ उनले भनिन्, ‘कसैले यो बाँदर आंकत अन्त्य गर्थ्यो भने त्यसैलाई भोट दिन्थेँ ।’

पद्मासँग कुरा गर्दै–गर्दा आइपुगेका अन्य केही महिलाले रोजगारीको विषयमा गुनासो गरे । ‘१० हजारको मात्र भए पनि जागिर पाए हुन्थ्यो,’ एक महिलाले भनिन् ।

चुनावी जोडघटाउ

कास्की २ को मत परिवर्र्तन हुँदै गरेको संकेत २०७९ मै देखिएको थियो । त्यतिबेला यो क्षेत्रबाट रास्वपाले समानुपातिकतर्फ १४ हजार २ मत ल्याउँदा एमालेले १३ हजार ५४० मत पाएको थियो । यसका आलावा कांग्रेसले १० हजार ५५३, राप्रपाले ४ हजार ४६५, माओवादीे(हालको नेकपा)ले २ हजार ४०४ र एकीकृत समाजवादीले १ हजार १७७ मत पाएका थिए ।

null

२०७४ मा रविन्द्र अधिकारी एमालेबाट २७ हजार २०७ मत ल्याएर निर्वाचित भएका थिए । उनको निधनपछि २०७६ को उपनिर्वाचनमा विद्या भट्टराई तत्कालीन नेकपाबाट २४ हजार ३९४ मत ल्याएर निर्वाचित भइन् । उपनिर्वाचनमा उनका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत ल्याएका थिए ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेले विद्यालाई नै अगाडि सार्‍यो । एमालेले आफ्नो क्षेत्र भनेर ढुक्क भएको किल्लामा एकाएक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेलले टक्कर दिए । विद्या १६ हजार ९९८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कंडेलले १२ हजार ४९५ मत ल्याएका थिए ।

कंडेलले अप्रत्यासित मत ल्याउनुमा प्रत्यक्षतर्फ कांग्रेसको उम्मेदवार नहुनु पनि एउटा कारण थियो । यसपटक कांग्रेसले आफ्नै उम्मेदवार अगाडि सारेको छ । कांग्रेस उम्मेदवार बास्तोलाप्रति पनि मतदाताको राम्रै बुझाइ पाइएकाले कांग्रेसको धेरै भोट उनले ‘होल्ड’ गर्ने देखिन्छ ।

null

एमालेले पनि रिसाएका आफ्ना ‘रिकग्नाइज’ मतदाता फकाउन प्रयास गरिरहेको छ । अन्तिम समयसम्म आफ्ना मतदातालाई ‘कन्भिन्स’ गरिछाड्ने एमालेको अठोट छ ।

यो क्षेत्रमा आजको दिनसम्म मुख्य प्रतिस्पर्धा एमाले र रास्वपाबीच भएजस्तो देखिए पनि कांग्रेसलाई पनि कम आँक्न मिल्ने अवस्था छैन । रास्वपालाई अघिल्लोपटक भन्दा यसपटक माहोलको बढी साथ छ ।

salt training

कमेन्ट गर्नुहोस्