मानव तस्करी, ठगी र अवैध वैदेशिक रोजगारीमार्फत् करिब ९८ करोड रूपैयाँ बराबरको रकम आर्जन गरेको भन्दै दुई जना मुद्दा दायर भएको छ ।
करिब २५० जना नेपालीलाई गैरकानूनी बाटो हुँदै अमेरिका पुर्याएको भन्दै रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-२ घर भई हाल काठमाडौं बस्ने कलबहादुर बस्नेत र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ घर का अमित बस्नेतविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा आरोपपत्र दायर गरिएको हो ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आरोपपत्र दायर गर्दै ९८ करोड ५ लाख ८२ हजार ७५१ रूपैयाँ २७ पैसा बिगो कायम गरेको छ । यसमध्ये कुलबहादुर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा छन् ।
अनुसन्धानका क्रममा उनीहरूले करिब २५० जना नेपाली नागरिकलाई बिनाअनुमति गैरकानूनी बाटो हुँदै विभिन्न देशमार्फत् अमेरिका प्रवेश गराएको, साथै केही व्यक्तिलाई अमेरिका लैजाने बहानामा विभिन्न देशमा अलपत्र पारी मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार ठगी गरेको देखिएको ब्यूरोका एसपी राजन लिम्बूले बताएका छन् ।
एसपी लिम्बूका अनुसार उक्त कसुरबाट आर्जित रकममध्ये केही नगद रूपमा र केही रकम उनीहरूको नाममा सञ्चालनमा रहेका विभिन्न बैंक खातामा जम्मा गराई मनि लाउण्डरिङ गरिएको पाइएको छ ।
कल बहादुर बस्नेतको नाममा करिब ७० करोड ६० लाख ५३ हजार ७२२ रूपैयाँ ३३ पैसा र अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार ०२८ रूपैयाँ ९४ पैसा बराबरको कसुरजन्य सम्पत्ति शुद्धीकरण गरिएको पुष्टि भएको ब्यूरोका एसपी लिम्बूले बताए ।
प्रहरीले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ र दफा ३० बमोजिम बिगोको दोब्बर जरिवाना र दुई वर्षदेखि पन्ध्र वर्षसम्म कैद सजायको मागदाबी लिएको छ ।
साथै प्रतिवादीहरूको नाममा रहेका घर–जग्गा, बैंक मौज्दात तथा बीमा रकम समेत ऐनको दफा ३४ बमोजिम जफत गर्नुपर्ने मागदाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् मंगलबार ब्यूरोले मुद्दा दायर गरेको हो ।