
नेपाली राष्ट्रिय महिला फूटबल टोलीका कप्तान सावित्रा भण्डारी (साम्बा)को स्वास्थ्य उपचारका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत प्रहरी कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् ।
उक्त कार्यालयका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालसहित ११७ इच्छुक प्रहरी कर्मचारीहरूले आज संयुक्तरूपमा कप्तान साम्बालाई ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
राष्ट्रका नाम उच्च बनाउन निर्वाध सङ्घर्षको मैदानमा पसिना बगाउँदै आएकी कप्तान साम्बाको स्वास्थ्य उपचारमा सानो भए पनि सहयोग पुगोस् भन्ने ध्येयले सहयोग गरिएको प्रहरी उपरीक्षक रिजालले बताए ।
स्वैच्छिक रूपले प्रहरी कर्मचारीबाट सङ्कलित रकम भण्डारीको व्यक्तिगत खाता रहेको कृषि विकास बैंकको खाता नम्बर ०२१०६०५४१२३०७०१३ मा जम्मा गरिएको उनले बताए ।
व्यक्तिको सङ्कटमा मानवीय समवेदना र सहकार्य आवश्यक रहेको बताउँदै प्रहरी प्रमुख रिजालले सामाजिक सद्भाव र सहयोगले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।