२५ असार २०८३, बिहीबार

संखुवासभा, सोलुखुम्बु र ताप्लेजुङका दुर्गम क्षेत्रका मतपेटिका भोलि मात्रै सदरमुकाम आइपुग्ने

फागुन २१, २०८२
विराटनगर
संखुवासभा, सोलुखुम्बु र ताप्लेजुङका दुर्गम क्षेत्रका मतपेटिका भोलि मात्रै सदरमुकाम आइपुग्ने

कोशीका पहाडी तथा हिमाली जिल्लाका केही दुर्गम केन्द्रबाट मतपेटिका ढुवानीमा समस्या भएपछि भोलि मात्रै मतपेटिका आउने भएका छन् । 

संखुवासभा, सोलुखुम्बु र ताप्लेजुङका केही क्षेत्रको मतपेटिका भोलि मात्रै सदरमुकाम आइपुग्ने भएका हुन् ।  

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण ती क्षेत्रका मतपेटिका भोलि मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने सम्बन्धित जिल्लाका अधिकारीहरूले जानकारी दिएका छन् ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकाका केही क्षेत्रका मतपेटिका भोलि मात्रै सदरमुकाम आइपुग्नेछन् । 

जिल्लाका कूल ९ वटा मतदान केन्द्रको मतपेटिका संकलनमा ढिलाइ भएको हो, जसमध्ये ५ वटा केन्द्रबाट हेलिकोप्टरमार्फत र ४ वटाबाट गाडीमार्फत भोलि बिहान मात्रै आइपुग्नेछन् ।

‘आज गाडीमा हिँडेका मतपेटिकाहरू पनि बाटोको अवस्थाका कारण भोलि मात्रै आइपुग्ने देखिएको छ, सबै मतपेटिका संकलन भएपछि मात्रै मतगणना शुरू गरिनेछ’, प्रजिअ थपलियाले भनिन् । 

त्यसैगरी, सोलुखुम्बु जिल्लामा पनि १० वटा मतदान केन्द्रका मतपेटिका भोलि मात्रै ढुवानी गरिने भएको छ । प्रजिअ लिलाकुमारी केसीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिकाका १० वटा मतदान केन्द्र र ९ वटा मतदान स्थलका मतपेटिका भोलि बिहान हेलिकोप्टरमार्फत ल्याउने तालिका तय गरिएको छ । 

उक्त गाउँपालिकाका कूल १२ मतदान केन्द्रमध्ये वडा नम्बर १ का दुई केन्द्रका मतपेटिका भने गाडीमार्फत् आजै रातिसम्म आइपुग्ने भए पनि बाँकी १० वटाका लागि भने मौसम र सुरक्षाका कारण भोलि बिहानसम्म कुर्नुपर्ने अवस्था छ ।

यता, ताप्लेजुङमा पनि दुर्गम क्षेत्रका ४ वटा मतदान केन्द्रको मतपेटिका आज सदरमुकाम पुर्‍याउन नसकिएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जानकारी दिए । 

फक्ताङलुङ गाउँपालिकाका ओलाङचुङगोला, याङ्मा, घुन्सा र ग्याब्लाका मतदान केन्द्रका मतपेटिकाहरू आजै ल्याउने तयारी गरिए पनि मौसममा आएको खराबीका कारण नेपाली सेनाको हेलिकोप्टर उड्न नसक्दा ढिलाइ भएको हो । 

यी चारै केन्द्रका मतपेटिकाहरू भोलि मात्रै सदरमुकाम ल्याइने र त्यसपछि मात्रै सर्वदलीय बैठक बसेर गणना प्रक्रिया अघि बढाइने सेढाईँले बताए । 

तीनवटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका आउन बाँकी रहेका क्षेत्र बाहेकका अन्य ठाउँका मतपेटिका भने सुरक्षित रूपमा संकलन भइरहेको जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्