
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ चारवटै क्षेत्रमा पनि अग्र मत ल्याउने पार्टी बनेको छ ।
मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार पर्सा क्षेत्र नं १ मा ६२ हजार ५०६ मतमध्ये रास्वपालाई ३४ हजार ४६३ मत खसेको छ । नेपाली कांग्रेसलाई आठ हजार २६७ मत खसेको छ । त्यस्तै नेकपा (एमाले) लाई नौ हजार २३१, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन हजार २४०, जनता समाजवादी पार्टीलाई एक हजार ९९ र नेपाली कम्युनिष्ट पार्टीलाई ६८१ मत खसेको छ ।
पर्सा–२ बाट समानुपातिकतर्फ कुल ६७ हजार १०७ मत खसेकोमध्ये सबैभन्दा धेरै मत रास्वपाले प्राप्त गरेको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार रास्वपालाई ३४ हजार ९१८ मत खसेको छ । कांग्रेसलाई १० हजार ३४०, एमालेलाई आठ हजार ५८५, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन हजार ५०६ र जनता समाजवादी पार्टी नेपाललाई दुई हजार ४५० मत खसेको छ ।
त्यसैगरी पर्सा–३ मा समानुपातिकतर्फ रास्वपाले २४ हजार १५८ मत प्राप्त गरेको छ । सो क्षेत्रमा कांग्रेसले आठ हजार ६५०, एमालेले छ हजार १६८ र नेपाली कम्युनिष्ट पार्टीले एक हजार १९५ मत पाएको छ ।
त्यस्तै पर्सा–४ मा पनि समानुपातिकतर्फ रास्वपाले ३० हजार ३८९ मत प्राप्त गरेको छ । सो क्षेत्रमा कांग्रेसले ११ हजार ५१२ र एमालेले नौ हजार ९३५ मत ल्याएको छ ।