
वेस्ट हाम युनाइटेड एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । पेनाल्टी सुटआउटमा ब्रेन्टफोर्डलाई ५–३ गोलले हराउँदै वेस्ट हाम अन्तिम आठमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि हार–जितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो । क्वार्टरफाइनलमा वेस्ट हामले लिड्स युनाइटेडको सामना गर्नेछ ।
लिड्स युनाइटेड भने नर्विच सिटीलाई ३–० गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । वेस्ट हाम र नर्विच सिटीसँगै लिभरपुल, आर्सनल, चेल्सी, म्यानचेस्टर सिटी, साउथआम्पटन र पोर्ट भेल पनि क्वार्टरफाइनलमा पुगेका छन् ।
ब्रेन्टफोर्डविरुद्धको खेलमा वेस्ट हामका लागि दुबै गोल जारोड बोवेनले गरेका थिए । निर्धारित समयको १९ औँ मिनेटमा पहिलो गोल गरेको बोवेनले ३४ औँ मिनेटमा पेनाल्टीमार्फत अर्को गोल थपेका थिए ।
ब्रेन्टफोर्डका लागि पनि दुबै गोल इगोर थिआगोले गरेका थिए । २८ औँ मिनेटमा पहिलो गोल गरेका थिआगोले ८१ औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपेका थिए ।
वेस्ट हाम युनाइटेडले हालसम्म तीनपटक एफए कपको उपाधि उचालेको छ । वेस्ट हामले सन् १९६४ मा पहिलो र सन् १९८० मा अन्तिमपटक उपाधि जितेको थियो ।
सबैभन्दा बढीपटक एफए कपको उपाधि जित्ने टोली आर्सनल हो । आर्सनलले हालसम्म १४ पटक उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले १३ पटक उपाधि उचालेको छ ।