११ साउन २०८३, सोमबार
फिफा विश्वकप–२०२६

नकआउट चरणमा फ्रान्स–स्वीडेन भिडन्त : साविक उपविजेताको लयमाथि ‘अन्डरडग’को चुनौती

असार १६, २०८३
काठमाडौं
नकआउट चरणमा फ्रान्स–स्वीडेन भिडन्त : साविक उपविजेताको लयमाथि ‘अन्डरडग’को चुनौती

फिफा विश्वकप–२०२६ को नकआउट चरणको रोमाञ्चक यात्रा शुरू भएसँगै मंगलबार उपाधिको बलियो दाबेदार मानिएको फ्रान्स र तुलनात्मक रूपमा कमजोर देखिएको स्वीडेन आमने–सामने हुँदैछन् ।

न्यू योर्कको न्यू जर्सी स्टेडियममा हुने यो ‘राउन्ड अफ–३२’ को खेलमा दुई पटकको विश्व विजेता फ्रान्स आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने स्वीडेन ‘अन्डरडग’को भूमिकाबाट सनसनीपूर्ण नतिजा निकाल्ने दाउमा रहने छ ।

समूहगत चरणमा फ्रान्सको प्रदर्शन निकै प्रभावशाली रह्यो । समूह ‘आई’मा सेनेगल, इराक र नर्वेलाई पाखा लगाउँदै फ्रान्स नौ अंकसहित शीर्ष स्थानमा रह्यो ।

समूहगत चरणमा तीन खेलमा १० गोल गरेको फ्रान्सले केवल दुई गोल खाएको थियो । खासगरी, नर्वेविरुद्धको खेलमा ओसमान डेम्बेलको ह्याट्रिकले फ्रान्सको आक्रमणमा केलियन एमबाप्पेबाहेक पनि अन्य खेलाडीहरू कति घातक छन् भन्ने प्रस्ट पारेको छ ।

अर्कोतर्फ, ग्राहम पोटरको प्रशिक्षणमा रहेको स्वीडेनको यात्रा भने निकै कठिन रह्यो । नेदरल्यान्ड्ससँग ५–१ गोलको लज्जास्पद हार ब्यहोरेको स्वीडेनले नकआउट चरणमा पुग्न भाग्यको पनि भर पर्नु पर्‍यो ।

ट्युनिसियालाई फराकिलो अन्तरले हराउँदै र जापानसँग बराबरी खेल्दै स्वीडेन तेस्रो हुने उत्कृष्ट आठ टोलीभित्र परेर नकआउट चरणमा प्रवेश गरेको हो ।

समूहगत चरणमा स्वीडेनले सात गोल गर्‍यो भने सात गोल नै खायो, जसले उनीहरूको रक्षापंक्तिको कमजोरीलाई छर्लङ्ग पारेको छ ।

खेलको नतिजा दुवै टोलीका प्रशिक्षकले रक्षापंक्तिमा गर्ने खेलाडी छनोटले निर्धारण गर्ने देखिएको छ । फ्रान्सका मुख्य डिफेन्डर विलियम सालिबा ढाडको समस्याबाट गुज्रिरहेका छन् ।

तर, उनी स्वीडेनविरुद्धको खेलमा मैदान ओर्लने सम्भावना छ । स्वीडेनका लागि भने समस्या अझ गम्भीर छ । मुख्य डिफेन्डर इसाक हिन चोटका कारण टोलीबाट बाहिर छन् । यो रिक्तता भर्न प्रशिक्षक पोटर भिक्टर लिन्डेलोफलाई मिडफिल्डबाट डिफेन्समा सार्ने योजनामा छन् ।

फ्रान्सको आक्रमण रोक्न स्वीडेनका लागि एन्थोनी इलाङ्गा, अलेक्ज्यान्डर इसाक र भिक्टर ग्योकेरेसको गति नै मुख्य हतियार हुनेछ ।

विश्वकपको यो संस्करणपछि फ्रान्सेली टोलीबाट बिदा लिने घोषणा गरिसकेका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्ना खेलाडीहरूलाई सचेत गराएका छन् ।

उनी भन्छन्, ‘स्वीडेनसँग गुमाउनु केही छैन, त्यसैले उनीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछन् । हामीले नम्रता र एकाग्रताका साथ खेल्नुपर्छ, किनकि नकआउट चरणमा दोस्रो मौका पाइँदैन ।’

स्वीडेनका प्रशिक्षक पोटरले फ्रान्सको बलियो पक्षलाई स्वीकार गर्दै भने, ‘फ्रान्सको टोलीमा विश्वस्तरीय खेलाडीहरू छन् । हामी उनीहरूलाई सम्मान गर्छौं, तर यो हाम्रा लागि अहिलेसम्मकै ठूलो चुनौती हो । हामीले आफ्नो जीवनकै उत्कृष्ट खेल खेल्नु पर्नेछ ।’

फ्रान्सका मार्कस थुराम र एनगोलो कान्टे चोटका कारण शंकास्पद अवस्थामा छन् । यो खेलका विजेताले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्