
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस ८४ स्थानमा निकटतम प्रतिद्वन्द्वी बनेको छ । नेकपा एमाले ४१ र नेकपा १७ ठाउँमा दोस्रो पोजिसनमा देखिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव जितेका १२५ मध्ये अधिकांश स्थानमा कांग्रेस दोस्रो पोजिसनमा छ । रास्वपाले चुनाव जितेका १२५ स्थानमध्ये ७३ स्थानमा कांग्रेस दोस्रो भएको छ ।
सभापति गगन थापा, महामन्त्री गुरूराज घिमिरे, प्रदीप पौडेललगायत रास्वपा उम्मेदवारसँग पराजित भएका छन् ।
ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल रास्वपाका विश्वराज पोखरेलसँग मात्र ५ भोटले हारेका थिए ।
कांग्रेसले चुनाव जितेका १८ स्थानमध्ये ८ स्थानमा एमाले दोस्रो भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ६ स्थानमा दोस्रो भएको छ ।
कांग्रेसले चुनाव जितेको २ स्थानमा मात्र रास्वपा दोस्रो स्थानमा देखिएको छ । कांग्रेसले जितेका २ स्थानमा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा छ ।
०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस प्रत्यक्षमा ५७ तथा समानुपातिकमा ३२ सहित ८९ सीट जितेर पहिलो दल बनेको थियो ।
४१ ठाउँमा एमाले दोस्रो
इतिहासमै सर्वाधिक कमजोर बनेर प्रत्यक्षतर्फ ९ सीटमा खुम्चिएको नेकपा एमाले १६५ क्षेत्रमध्ये ४१ स्थानमा दोस्रो पोजिसनमा देखिएको छ । रास्वपाले जितेका १२५ सीटमा एमाले २७ स्थानमा दोस्रो बनेको छ ।
अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेल रास्वपाका उम्मेदवारसँग पराजित भएका छन् । ओली रास्वपाका बालेन शाहसँग ४९ हजार ६ सय १४ मतान्तरले पराजित भएका थिए ।
आफूले जितेका ९ स्थानमध्ये २ ठाउँमा मात्र एमालेले रास्वपालाई पराजित गरेको छ । नेपाली कांग्रेसले जितेका १८ मध्ये ८ स्थानमा एमाले दोस्रो बनेको छ । नेकपाले चुनाव जितेका क्षेत्रमा ३ स्थानमा मात्र एमाले दोस्रो पोजिसनमा छ ।
स्वतन्त्र सांसद महावीर पुनले चुनाव जितेको म्याग्दीमा पनि एमाले दोस्रो बनेको छ ।
श्रम संस्कृति पार्टीले चुनाव जितेका २ ठाउँमा एमाले दोस्रो बनेको छ । पूर्वी पहाडी जिल्लामा श्रम संस्कृति पार्टीले एमालेको समीकरणमा फेरबदल ल्याइदिएको छ ।
०७९ सालको चुनावमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट ल्याएर एमाले दोस्रो बनेको थियो ।
१७ ठाउँमा नेकपा दोस्रो, ६ ठाउँमा जसपा
प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ८ ठाउँ (विवादास्पद धनुषा १ समेत)मा चुनाव जितेको नेकपा १७ ठाउँमा दोस्रो पोजिसनमा छ । रास्वपाले चुनाव जितेका १२५ मध्ये १० ठाउँमा नेकपा दोस्रो बनेको छ ।
यस्तै, नेपाली कांग्रेसले चुनाव जितेका १८ मध्ये ६ ठाउँमा नेकपा दोस्रो बनेको छ । एमालेले चुनाव जितेको कुनै पनि ठाउँमा नेकपा दोस्रो भएको छैन ।
०७९ सालको चुनावमा प्रत्यक्षतर्फ १८ र समानुपातिकमा १४ गरी ३२ सीट ल्याएर तत्कालीन माओवादी तेस्रो बनेको थियो ।
यो चुनावमा शून्य सिटमा खुम्चिएको मधेशकेन्द्रित दल जसपा नेपाल ६ ठाउँमा प्रतिस्पर्धामा आएको छ । यसअघिको चुनावमा प्रत्यक्षमा ७ र समानुपातिकमा १२ सीटसहित जसपा छैटौं दल बनेको थियो ।
६ ठाउँमा रास्वपा दोस्रो
प्रत्यक्षतर्फ १२५ स्थानमा चुनाव जितेको रास्वपा ६ स्थानमा मात्र दोस्रो भएको छ । श्रम संस्कृति पार्टीका हर्क साम्पाङले जितेको सुनसरी १, कांग्रेसका अभिषेकप्रताप शाहले चुनाव जितेको कपिलवस्तु ३ तथा कांग्रेसका मोहन आचार्य चुनाव जितेको रसुवामा रास्वपा दोस्रो भएको छ ।
एमालेका इस्तियाक राईले चुनाव जितेको बाँके २, अर्जुन कार्कीले चुनाव जितेको संखुवासभा र नेकपाका रमेश मल्लले चुनाव जितेको सल्यानमा रास्वपा दोस्रो बनेको छ ।
रास्वपाले चुनाव जितेका १२५ सीटमा कांग्रेस ७३, एमाले २७, नेकपा १०, जसपा ६, श्रम संस्कृति पार्टी २ तथा राप्रपा, उज्यालो नेपाल पार्टी, नेपाल मजदूर किसान पार्टी, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वाभिमान पार्टी तथा स्वतन्त्र एक ठाउँमा प्रतिस्पर्धामा आएका थिए ।