नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले हालको चुनावी परिणामलाई केवल एमाले वा कम्युनिस्ट आन्दोलनको संकटका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। लोकान्तरसँग कुरा गर्दै उनले अहिलेको चुनौती धेरै कुरासँग जोडिएको बताए।
चुनावी परिणामलाई एमालेको वा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत संकटका रूपमा सीमित गर्न नहुने उनको भनाइ छ। 'पहिलो कुरा त अहिलेको प्रश्न एमाले वा कम्युनिस्ट आन्दोलनको मात्रै होइन । धेरै कुराको चुनौती छ । एमालेको मात्रै संकट वा अध्यक्ष केपी शर्मा ओलीको मात्रै संकट भनेर मात्रै बुझ्न हुँदैन,' लोकान्तरसँग उनले भने ।
केवल व्यक्ति परिवर्तनले मात्र समस्या समाधान नहुने कुरा नेपाली कांग्रेसकै अनुभवले देखाइसकेको उनले बताए । 'व्यक्ति परिवर्तन मात्रै समस्याको समाधान होइन रहेछ भन्ने कुराको जीवन्त उदाहरण चाहिँ नेपाली कांग्रेस स्वयं हो । पुरानो अनुहारलाई लिएर भोट माग्न सकिँदैन भनेर उहाँहरूले विशेष महाधिवेशन गर्नुभयो,' उनले भने, 'प्रचण्डले त पुरानो सबै लिगेसी किनारा लगाएर पार्टीको नामै फेर्नुभयो । माओवादीको ट्यागसमेत छोडेर जाँदा पनि समाधान दिएन ।'
अहिलेको बहसलाई व्यक्तिमा मात्रै सीमित गरेर हेर्नु उपयुक्त नहुने उनले बताए। पार्टीभित्र उठेका प्रश्नहरू बैठकमा पनि छलफल हुने र त्यसलाई समष्टिगत रूपमा विश्लेषण गर्नुपर्ने उनको भनाइ छ । 'साघुरो घेराभित्र व्यक्तिमा मात्रै समस्या छ र व्यक्ति परिवर्तन नै समाधान हो भन्ने ढंगले बहस गर्नु उचित होइन । अहिले पनि प्रश्न उठेका छन् । नेताहरूले उठाउनुभएको छ । भोलि बैठकमा पनि प्रश्न उठ्लान् । यसलाई समष्टिगतरूपमा हेर्नुपर्छ । कुरा उठ्दा व्यक्तिको कुरा पनि आइहाल्छ । यसलाई हामी छलफल गर्छौं,' उनले भने ।
चुनावमा विकासका एजेण्डाभन्दा पनि प्रधानमन्त्री को बन्ने भन्ने विषय निर्णायक बनेको टिप्पणी गरे। 'अहिले पार्टी र एजेण्डा हेरिएन । प्रधानमन्त्री कसलाई बनाउने भन्ने नै निर्णायक फ्याक्टर बन्यो भन्ने लाग्छ,' उनले भने, 'विकास एजेण्डा नै बनेनन् । भोट फर चेन्ज भन्ने भयो । त्यो के हो ? नारा दिने र प्रभावित हुनेहरू नै प्रष्ट हुनुहुन्छ । देशैभरि आएको सुनामीमा हामी सबै पर्यौँ ।'