
धनुषा-१ मा उम्मेदवारी खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका किशोरी साह कमलको मनोनयन निर्वाचन आयोगले बदर गरेपछि त्यस निर्णयविरुद्ध दायर भएको रिटमा सुनुवाइ चलिरहेको हो ।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा आइतबार सुनुवाइ जारी छ । अहिलेसम्म निवेदक कमलको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता दीपेन्द्र झा र रवि नायकले बहस गरेका छन् ।
त्यसैगरी, निर्वाचन आयोगको तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरिरहेका छन् ।
निर्वाचन आयोगले खारेज गरेको उम्मेदवारी मनोनयनविरुद्ध निवेदक कमलले अन्तरिम आदेश माग गरेका थिए।
आयोगले कर्जा सुरक्षण केन्द्रको कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी मनोनयन बदर गरेको थियो । यसअघिको सर्वोच्चको आदेशमा कालोसूचीमा नराख्न आदेश भएको छ । त्यहाँ उनको उम्मेदवारी मनोनयन खारेज भए पनि मतपत्रमा चुनाव चिह्न कायमै रहेपछि मतदाताले मतदान गरेको पाइएको थियो ।
आयोगले घण्टी चिह्नमा भएको मतदानको छुट्टै लगत राखी गणना गरे पनि त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मात्रिका प्रसाद यादव विजयी भएर प्रमाणपत्र समेत पाइसकेका छन् ।