२५ असार २०८३, बिहीबार

अमेरिकी आक्रमणबाट ८७ इरानी नौसैनिकको मृत्यु, बदला लिने इरानको चेतावनी

चैत ३, २०८२
काठमाडौं
अमेरिकी आक्रमणबाट ८७ इरानी नौसैनिकको मृत्यु, बदला लिने इरानको चेतावनी

हिन्द महासागरअन्तर्गत श्रीलंकाको तटीय क्षेत्रमा अमेरिकी पनडुब्बीले गरेको आक्रमणमा परी आफ्ना दर्जनौँ नौसैनिक मारिएको पुष्टि गर्दै इरानले यसको बदला लिने चेतावनी दिएको छ। 

इरानी नौसेनाका कमाण्डर रियर एडमिरल शाहराम इरानीले आफ्ना शत्रुहरूले यसको घातक परिणाम भोग्नुपर्ने बताएका हुन्।

 मार्च ४ तारिखका दिन श्रीलंकाको गाले तट नजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा इरानी नौसेनाको पानीजहाज 'आइआरआइएस डेना' लाई लक्षित गर्दै अमेरिकी पनडुब्बीले प्रहार गरेको थियो। भारतसँगको संयुक्त नौसैनिक अभ्यास सकेर इरान फर्किँदै गर्दा भएको उक्त भीषण आक्रमणमा परी कम्तीमा ८७ जना इरानी नौसैनिकको मृत्यु भएको समाचारमा उल्लेख छ। घटनामा ३२ जना नौसैनिकको उद्धार गरिएको छ भने अन्य कैयौँ अझै बेपत्ता रहेका छन्।

इरानको अंग्रेजी न्युज च्यानल 'प्रेस टिभी'का अनुसार नौसेना कमाण्डर इरानीले शत्रुको अपराधलाई कहिल्यै नभुल्ने र आफ्ना सहिदहरूको रगतको बदला लिएरै छाड्ने दृढता व्यक्त गरेका छन्। 

उनले चेतावनी दिँदै भनेका छन्, 'शत्रुले यो कुरा बुझ्न जरुरी छ कि उनीहरूले कल्पना समेत नगरेको ठाउँबाट हामी घातक प्रहार गरेर सजाय दिनेछौँ। यद्यपि आज हामी हाम्रा प्रियजनहरू गुमाएकोमा शोकमा छौँ, तर ईश्वरको कृपाले हामीले शत्रुलाई घुँडा टेकाएका छौँ।'
यसैबीच, अमेरिकी आक्रमणमा ज्यान गुमाएका इरानी नौसैनिकहरूको अन्तिम संस्कार बुधबार गरिने तय भएको छ। त्यसअघि मंगलबार उनीहरूप्रति विशेष सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्