२५ जेठ २०८३, सोमबार
सिटिजन्स बैंक घोटाला प्रकरण

१३ नक्कली ऋणी खडा गरी ५ करोड हिनामिना, अनुसन्धानको राडारमा प्रदेश र केन्द्रका कर्मचारी पनि

चैत ५, २०८२
विराटनगर
१३ नक्कली ऋणी खडा गरी ५ करोड हिनामिना, अनुसन्धानको राडारमा प्रदेश र केन्द्रका कर्मचारी पनि

सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगरस्थित कञ्चनबारी शाखामा भएको करिब ५ करोड हिनामिना प्रकरणमा अर्को रहस्य खुलेको छ । 

बैंकभित्रै बसेर गरिएको यो ‘इन्साइडर’ घोटालामा १३ जना नक्कली ऋणी खडा गरी कूल ४ करोड ९१ लाख ५२ हजार १३ रूपैयाँ ६५ पैसा हिनामिना गरिएको तथ्य सार्वजनिक भएको छ ।

बैंकको आन्तरिक लेखापरीक्षण (अडिट)का क्रममा खुलेको यो बदमासीको प्रकृति निकै चलाखीपूर्ण र योजनाबद्ध देखिन्छ । कर्मचारीहरूले निक्षेपकर्ताले मुद्दती निक्षेप (फिक्स डिपोजिट) मा राखेको रकमलाई उनीहरूको जानकारीबिना नै धितोका रूपमा प्रयोग गरी नक्कली कर्जा फाइल तयार पारेका थिए । 

यसरी सर्वसाधारणको निक्षेपलाई कीर्ते कागजातका आधारमा ऋणमा परिणत गरी २० लाखदेखि १ करोड २५ लाख रूपैयाँसम्मका १३ वटा नक्कली ऋण फाइल खडा गरेर बैंकको ढुकुटी रित्याउने काम भएको थियो । 

यो प्रकरणमा बैंकका तल्लो तहका कर्मचारी मात्र नभई माथिल्लो तहमा व्यक्तिहरूको समेत प्रत्यक्ष संलग्नता रहेको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृतहरू बताउँछन् ।

अडिट रिपोर्टका अनुसार यो रकम निकाल्नका लागि कञ्चनबारी शाखाका तत्कालीन प्रबन्धक अभिषेक अग्रवाल (आईडी ४७२), सहायक शाखा प्रबन्धक जोसेफ आचार्य (आईडी १९३२), अपरेसन इन्चार्ज रोजी कँडेल (आईडी २२७४) र सोनिका राउत (आईडी २८७) को युजर आईडी प्रयोग भएको पाइएको छ ।

यो पनि पढ्नुहोस्- सिटिजन्स बैंकको कञ्चनबारी शाखामा ५ करोड घोटाला, ५ कर्मचारी निलम्बित

घटना बाहिरिएपछि बैंकले मुख्य आरोपित कँडेललाई बर्खास्त गरिसकेको छ भने शाखा प्रबन्धक अग्रवाल र सहायक प्रबन्धक आचार्यसहित सोनिका राउत, विकास श्रेष्ठ, एलिना श्रेष्ठ र उद्धव अधिकारीलाई निलम्बन गरेको छ । 

मोरङ प्रहरीका अनुसार यस प्रकरणमा प्रदेश र केन्द्रीय कार्यालयका कर्मचारीहरूको समेत मिलोमतो रहेको हुनसक्ने कोणबाट अनुसन्धान भइरहेको छ । बैंकले २९ चैतमा मुख्य आरोपित कँडेलविरुद्ध मात्र ‘बैंकिङ कसुर’ मुद्दामा उजुरी दर्ता गरेको थियो ।

बैंकले मालपोतलाई लेखेको पत्र ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश पोखरेलले दुई महिनाअघि नै केन्द्रबाट चार्टर्ड एकाउन्टेन्टसहितको टोली पठाएर २५० पानाको विस्तृत छानबिन प्रतिवेदन तयार पारेको र सोही प्रतिवेदनका आधारमा प्रहरीमा उजुरी दिइएको बताएका छन् । 

हिनामिनामा संलग्न कँडेलले शुरूमा १५ दिनभित्र रकम तिर्ने कागज गरे पनि पछि बैंकले कानूनी कारबाहीका लागि प्रहरीमा सिफारिस गरेको थियो ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार दुई महिनाअघि नै केन्द्रबाट चार्टर्ड एकाउन्टेन्टसहितको टोली पठाएर छानबिन गरिएको थियो । अन्य कर्मचारीको हकमा भने हिनामिनाको जानकारी भएर पनि किन रिपोर्ट नगरेको भन्नेबारे सोधपुछ भइरहेको उनले बताए ।

अहिले मुख्य आरोपित कँडेलविरुद्ध ‘बैंकिङ कसुर’ मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता भई पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । 

मोरङका प्रहरी प्रमुख, एसपी कवित कटुवालले बैंकको अडिट रिपोर्ट प्राप्त भइसकेको र दोषीलाई उम्कन नदिने गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।

बैंकले फागुन २६ गते मालपोत कार्यालयलाई लेखेको पत्र ।

यता आरोपित पक्षले भने आफूहरूलाई मात्रै बली चढाउन खोजिएको दाबी गरेको छ।  रोजी कँडेलका परिवारका अनुसार बैंकले आन्तरिक रूपमै मिलाउने आश्वासन दिएपछि रोजीका ससुरा खगेन्द्र प्रसाद रिजालको नाममा रहेको रंगेली नगरपालिकाका करिब ६ करोड मूल्यांकन गरिएका जग्गाहरू बैंकका नाममा दृष्टिबन्धक राखिएको थियो  । 

१८ माघ र २६ फागुनमा ती जग्गाहरू रोक्का राखिए पनि बैंकले सम्झौताविपरीत उजुरी दिएको उनीहरूको आरोप छ ।

पढ्नुहोस् यो पनि- सिटिजन्स बैंकको ५ करोड हिनामिना प्रकरण : मुख्य आरोपित कँडेलविरुद्ध पक्राउ पुर्जी जारी​​

आफू पक्राउ पर्ने डरले कँडेलले उच्च अदालत विराटनगरमा निषेधाज्ञाको मुद्दासमेत दायर गरेकी थिइन्, जसमा उनले बैंकका सीईओ गणेश पोखरेल र शाखा प्रबन्धक अभिषेक अग्रवाललगायतलाई विपक्षी बनाएकी थिइन् । तर, उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको छ । 

कँडेलले उच्च अदालतमा दिएको निवेदन :

nullnullnull

अदालतको यो आदेशसँगै अब मोरङ प्रहरीलाई मुख्य आरोपित कँडेललाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्ने बाटो पूर्ण रूपमा खुलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्