
गत निर्वाचनले नेपाली कांग्रेसलाई केवल मत परिणाम मात्र दिएन, यसले संगठनभित्रको कमजोरी र समय अनुसार अद्यावधिक नभएको अवस्थालाई पनि उजागर गर्यो ।
पार्टीको मेरुदण्डको रूपमा काम गर्ने भातृ तथा शुभेच्छुक संस्थाहरू; नेविसंघ, नेपाल तरुण दल, महिला संघ, किसान संघ लगायतका संगठनहरूले आफ्नो अपेक्षित भूमिका प्रभावकारी ढंगले निभाउन सकेनन् । अधिवेशन हुन नसक्नु, नियमित बैठक नबस्नु, कार्यसमीक्षा नगर्नु र निर्वाचनमा सक्रिय भूमिका निभाउन नसक्नु सबै संकेत हुन् कि वर्तमान कमिटीहरू असफल छन् ।
राजनीतिक दलको शक्ति केवल शीर्ष नेतृत्वमा निर्भर हुँदैन; यसको वास्तविक प्रभाव तल्लो तहसम्म फैलिएको संगठन सक्रिय रहँदा मात्र सुनिश्चित हुन्छ । यदि भातृ संस्थाहरू कमजोर छन् भने पार्टीको आधारभूत शक्ति र भविष्य नेतृत्व दुवै प्रभावित हुन्छ ।
नेविसंघ लामो समयदेखि अधिवेशनविहीन छ र क्याम्पसमा यसको उपस्थितिमा निरन्तर कमी आएको छ । विद्यार्थीहरूबीच वैचारिक बहस र नेतृत्व विकास कार्यक्रम कमजोर भएको छ । नयाँ पुस्तालाई पार्टीतर्फ आकर्षित गर्न नसक्नु नेतृत्व उत्पादनमा ठूलो चुनौती बनेको छ ।
तरुण दल पनि युवाशक्तिको प्रतिनिधि संगठन भएर, निर्वाचन परिचालन, आन्दोलन र जनसम्पर्कमा अपेक्षित सक्रियता देखाउन सकेन । महिला संघले महिला मतदाता र नेतृत्व विकासमा प्रभावकारी भूमिका निभाउन नसक्नु पार्टीको ठूलो कमजोरी हो भने, किसान संघले कृषकका वास्तविक मुद्दा उठाउन नसक्नुले ग्रामीण क्षेत्रमा पार्टीको पकड कमजोर बनाएको छ । जब महिला र किसान जस्ता महत्त्वपूर्ण वर्गसँग संगठनको सम्बन्ध कमजोर हुन्छ, तब पार्टीको जनाधार कमजोर हुनु स्वाभाविक हो ।
विश्वका ठूला राजनीतिक दलहरूले हारपछि पुरानो संरचना भंग गरी नयाँ नेतृत्व र संगठन निर्माण गरेका उदाहरण छन् । बेलायतको लेबर पार्टीले लगातार हार भोगेपछि पुरानो नेतृत्व हटाएर नयाँ कमिटी गठन गर्यो । यसले युवापुस्ता, महिला र सामाजिक समूहलाई प्राथमिकता दिँदै संगठनलाई पुनः सक्रिय बनायो र १९९७ मा ऐतिहासिक विजय हासिल गर्यो ।
अमेरिकाको डेमोक्रेटिक पार्टीले हारपछि आफ्ना भातृ संगठन र स्थानीय संरचनालाई पुनर्संरचना गर्दै नयाँ नेतृत्व ल्यायो, रणनीति परिमार्जन गर्यो र १९९२ मा बिल क्लिन्टनको नेतृत्वमा पुनः जनसमर्थन पायो । दक्षिण अफ्रिकाको अफ्रिकन नेशनल कांग्रेस (ANC) ले रंगभेदविरुद्धको आन्दोलन र चुनावी चुनौतीको समयमा आफ्ना सहायक संगठन पुनर्गठन गर्यो, नयाँ नेतृत्व ल्यायो र युवा, महिला तथा श्रमिक संगठनहरूलाई सक्रिय बनायो । यसको परिणामस्वरूप १९९४ मा पहिलो लोकतान्त्रिक निर्वाचन जित्न सफल भयो ।
यी उदाहरणहरूले देखाउँछन्; हारपछि पुरानो, निष्क्रिय संरचना जोगाउनु भन्दा नयाँ, सक्रिय र जिम्मेवार संरचना निर्माण गर्नु दीर्घकालीन सफलता सुनिश्चित गर्दछ । नेपाली कांग्रेसमा पनि यही कदम आवश्यक छ । वर्तमान असफल कमिटीहरू भंग गरेर नयाँ, सानो र कार्यक्षम कमिटी गठन गर्नु अपरिहार्य छ । नयाँ कमिटीले अधिवेशन सम्पन्न गर्न, कार्यकर्तालाई सक्रिय बनाउने, निर्वाचनमा प्रभावकारी भूमिका निभाउने र युवालाई सही दिशामा परिचालन गर्ने जिम्मेवारी लिनुपर्छ ।
नेविसंघको पुरानो कमिटी हटाएर क्याम्पसमा सक्रिय नेतृत्व ल्याउने, तरुण दलको नयाँ कमिटीले युवाशक्तिलाई सही दिशा दिने, महिला संघले महिला नेतृत्व र मतदाता परिचालनको जिम्मेवारी लिने र किसान संघले ग्रामीण क्षेत्र र कृषकका मुद्दामा प्रभावकारी भूमिका निभाउने नयाँ संरचना खडा गर्नु आजको आवश्यकता र भोलिको भविष्य बनेको छ ।
नयाँ संरचनामा ध्यान दिनुपर्ने मुख्य बुँदाहरू; प्रत्येक सदस्यको जिम्मेवारी स्पष्ट हुनुपर्छ, बैठक र कार्यसमीक्षा नियमित हुनुपर्छ, डिजिटल माध्यममार्फत् मतदाता र युवा समूहसँग प्रत्यक्ष सम्पर्क बढाउनु पर्दछ र नेतृत्व चयनमा पदभन्दा कामलाई प्राथमिकता दिइनुपर्छ । संगठनले स्पष्ट उद्देश्य र परिणाममुखी नेतृत्वबिना कुनै पनि चुनावी चुनौती सामना गर्न सक्दैन ।
अन्ततः इतिहासले देखाएको छ; हारपछि साहसी निर्णय गर्ने दलहरू दीर्घकालीन रूपमा सफल भएका छन् । नेपाली कांग्रेसले पनि यही सिकाइ व्यवहारमा उतार्नुपर्छ । भंग, पुनर्गठन र अधिवेशन यी तीन कदम अपनाएर मात्र भातृ संस्थाहरू सक्रिय, उत्तरदायी र परिणाममुखी बन्न सक्छन् ।
यदि अहिले साहसिक निर्णय गरियो भने पार्टीको संगठन पुनः जीवित र जनतासँग जोडिएको बन्न सक्छ, अन्यथा पुरानो संरचनामा निरन्तरता दिँदा आगामी निर्वाचनमा पनि यही समस्या र परिणाम दोहोरिनेछ ।
[लेखक नेपाल तरुण दलकी केन्द्रीय सदस्य हुन्।]