२४ जेठ २०८३, आइतबार
'रिफर्म'को पर्खाइमा स्वास्थ्य क्षेत्र

‘बालेन सरकार’माथि नजर : स्वास्थ्य क्षेत्रमा के गर्लान् सुधार ? [भिडियो]

चैत ८, २०८२
काठमाडौं

चैत्र १३ गते प्रधानमन्त्रीको शपथ गर्ने तयारी गरेसँगै अब बालेन नेतृत्वको सरकारले कहाँबाट काम शुरू गर्छ ? कुन–कुन क्षेत्रमा सुधार गर्छ ? आम मानिसलाई चासो बनिरहेको छ ।  

जनताको आधारभूत आवश्यकतामध्ये सबैभन्दा समस्याग्रस्त बनेको स्वास्थ्य क्षेत्र हो । अधिकांश सरकारी अस्पतालको दुरावस्थाका कारण मासिनहरू महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गर्न बाध्य छन् ।

मुटु, क्यान्सर र मिर्गौलाजस्ता जटिल रोगको उपचारका लागि सरकारी अस्पतालमा बेड पाउन पनि सर्वसाधारणलाई मुस्किल परिरहेको छ । सामान्य शल्यक्रियाका लागि महिनौं कुर्नुपर्ने अवस्था छ ।

सुलभ उपचार नपाएका सर्वसाधारणले नयाँ सरकारले स्वास्थ्य क्षेत्रमा कस्तो सुधार गर्छ भनेर हेरिरहेका छन् ।

रास्वपाले प्रतिनिधि सभा चुनावका लागि सार्वजनिक गरेको वाचा पत्रमा स्वास्थ्य क्षेत्रमा सुधारका अवधारणा सार्वजनिक गरेको छ ।

नयाँ सांसदलाई निर्देशन दिने क्रममा रास्वपा सभापति रवि लामिछानेले सरकारी अस्पताललाई व्यवस्थित र भरपर्दो बनाउन सरकारी अस्पतालमै उपचार गर्न सांसदहरूलाई निर्देशन दिएका थिए । लामिछाने स्वयंले त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका थिए ।

बालेनले स्वास्थ्य मन्त्रालयमा अनुभवी चिकित्सकलाई ल्याउने तयारी गरेका छन् ।

ललितपुर ३ बाट निर्वाचित डा. तोसिमा कार्की या रूपन्देही ३ बाट निर्वाचित डा. लेखजंग थापाले बालेन सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मा पाउने सम्भावना छ । संसद्मा दृष्टि विशेषज्ञ डा. दीपक शाह महोत्तरीबाट विजयी भएर आएका छन् । समानुपातिकतर्फ डा. ओजस्वी शेरचन र डा अंकिता ठाकुर निर्वाचित भएर आएका छन् ।

नेपालको स्वास्थ्य क्षेत्रको समस्याबारे जानकार डाक्टर मन्त्रीहरूले सरकारी अस्पताल सुधारका लागि आफ्नो भिजन लागु गर्नेछन् । सरकारी अस्पतालको सेवा सुविधाले नै रास्वपा सरकारप्रति सर्वसाधारण जनताको दृष्टिकोण निर्धारण गर्नेछ ।

रास्वपाले सार्वजनिक गरेको चुनावी वाचा पत्रको को ७० औं नम्बरमा देशभर आधारभूत स्वास्थ्य क्षेत्रमा न्यूनतम् मापदण्ड कायम गरी सेवा प्रवाह गर्न आवश्यक मानव संसाधन, पर्याप्त औषधि आपूर्ति, अत्यावश्यक उपकरण, सहज पहुँच र आधारभूत पूर्वाधारको सुनिश्चितता सहितको एकीकृत मोडल तयारी गरी लागू गर्नेछौं भन्ने उल्लेख छ ।

वाचा पत्रको ७१ औं नम्बरमा स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिकको पहुँच सुनिश्चित हुने गरी विस्तार गर्ने उल्लेख छ । अहिले स्वास्थ्य बिमा कार्यक्रम घिटिघिटी चलिरहेको छ ।

स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्दै औषधि उपचार तथा सेवाहरू मानसिक स्वास्थ्य समेत स्वास्थ्य बिमा कार्यक्रममा समेटिने गरी स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको मुख्य प्राथमिकताको कार्यक्रमको रूपमा अगाडि बढाउने कुरा रास्वपाका चुनावी वाचा पत्रका उल्लेख छ ।

रास्वपाको वाचा पत्रको ७२ औं नम्बरमा क्यान्सर लगायत नसर्ने रोगका सन्दर्भमा उपचारमुखीभन्दा रोकथाममुखी रणनीतिलाई मुख्य लक्षका रूपमा कार्यान्वयन गर्ने कुरा उल्लेख छ ।

विविध प्रकारका अनुदान या नगद हस्तान्तरणलाई दीर्घकालीन समाधानको सट्टा अस्थायी राहतका रूपमा बुझ्दै रोग लागेपछि उपचार गर्नेभन्दा जोखिमको पहिचान, जनचेतना अभिवृद्धि नियमित स्वास्थ्य परीक्षण तथा जीवनशैली सुधारतर्फ उन्मुख गर्ने कुरा उल्लेख छ ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्