२२ जेठ २०८३, शुक्रबार
संस्कृत विश्वविद्यालयको प्रतिष्ठामै उठ्यो प्रश्न

ओलीका उखानटुक्कामा दिइएको पीएचडी उपाधि विवादमा, विज्ञ भन्छन्- तत्काल छानबिन हुनुपर्छ !

चैत ९, २०८२
काठमाडौं

नेपाल संस्कृत विश्वविद्यालयले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमा विद्यावारिधिको उपाधि प्रदान गरेको छ । ओलीले प्रयोग गरेका उखानटुक्कामा एक विद्यार्थीले पीएचडीको उपाधि पाएकी हुन् ।

नेपाली भाषाकी विद्यार्थी सानुमैया खड्कालाई ‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्‍जना’ शीर्षकमा विश्वविद्यालयले पीएचडी उपाधि प्रदान गरेको हो । 

विश्वविद्यालयले चैत ८ गते विभिन्न विषयका १० विद्यार्थीलाई उपाधि प्रदान गर्ने क्रममा सानुमैयाले पनि उपाधि पाएकी हुन् । सानुमैया यसपटक सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट खस आर्य महिला क्लस्टरमा ११ औं नम्बरमा सिफारिस भएकी थिइन् । तर, उनी सांसद बन्न  सकिनन् ।

एक कार्यक्रममा प्रमुख अतिथि रहेका बेला ओलीले आफ्ना कुरा विद्वत वर्गले नबुझेर सिधै उखानटुक्का भन्दिने गरेको भनेर चित्त दुखाएका रहेछन् । सोही कुराले बिझाएपछि आफूले सो विषयमा विद्यावारिधि गर्ने निर्णय गरेको सानुमैया बताउँछिन् ।

‘केपी शर्मा ओलीको अभिव्यक्तिमा व्यञ्‍जना’ शीर्षकमा आर्टिकलसहित पेश गरेको प्रपोजल स्वीकृत भएपछि ५ वर्ष लगाएर पीएचडी गरेको उनको कथन छ । सिधा अर्थ, लक्ष्यार्थ र व्यङ्ग्यार्थ गरेर तीनवटा अर्थमा आफ्नो शोधको निष्कर्ष निस्किएको उनको कथन छ ।

ओलीले बोलेका सबै कुरा उखानटुक्का होइन रहेछन्, व्यञ्जना रहेछन् भन्ने शोधको निष्कर्ष रहेको उनले सुनाइन् ।

सानुमैयाले पीएचडी उपाधि पाइसके पनि त्यसलाई लिएर अहिले विवाद उत्पन्न भएको छ । नेपाली भाषाको विद्यार्थी भएको हुनाले उनले पेश गरेको शीर्षक नै प्रथमदृष्टिमै अस्वीकृत हुनुपर्ने विद्वानहरूको कथन छ । 

एक त संस्कृत विश्वविद्यालय रहेको हुनाले संस्कृत भाषामा नै विद्यावारिधिको उपाधि प्रदान गर्नुपर्ने हुन्छ । त्यसमा पनि विश्वविद्यालय अनुदान आयोगको कार्यविधिअनुसार जुनकुनै विषयमा विद्यावारिधिको उपाधि प्रदान गर्नुअघि त्यस विषयमा स्नातकोत्तर तहको पठनपाठन गराउनुपर्ने हुन्छ । 

एउटा तथ्य के छ भने संस्कृत विश्वविद्यालयले नेपाली भाषामा स्नातकोत्तर सञ्चालन नै गरेको छैन । तर, पनि एमाले महासचिव शंकर पोखरेलका भान्जा माधव अधिकारी सोही विश्वविद्यालयको रजिस्ट्रार भएकाले उक्त विषयमा स्वीकृति प्रदान गरिएको विश्वविद्यालयका एक पदाधिकारीले बताए ।

अधिकारी दोस्रोपटक अहिले रजिष्ट्रारको भूमिकामा छन् । नेतृत्वलाई खुसी पार्नका लागि उक्त विषय स्वीकृत गरिएको उनको कथन छ । 

नेपाल संस्कृत विश्वविद्यालयले २०८२ वैशाख ४  गते विद्यावारिधिका विषयमा एउटा सूचना प्रकाशन गरेको थियो । विद्यावारिधि कार्यक्रमका लागि त्यस सूचनामा प्राथमिकता क्षेत्र नै निर्धारण गरिएको छ । 

संस्कृतबाहेक नेपाली र अंग्रेजी भाषा साहित्यको अध्ययनतर्फ रस, अलंकार र नीतिचेतनासँग सम्बन्धित शीर्षकमा यसपूर्व नै पर्याप्त अध्ययन भइसकेकाले यस्ता अवधारणाहरू न्यून प्राथमिकतामा रहने उक्त सूचनामा उल्लेख छ ।

सूचनाले नै पनि त्यस्ता विषय प्राथमिकतामा नपर्नुपर्ने देखाउँछ । तर, पनि सानुमैयाको प्रस्ताव स्वीकृत मात्र भएन, अन्ततः डिग्री नै प्रदान गरिएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुपति तथा नेपाली भाषाका प्राध्यापक कुलप्रसाद कोइराला त्यस विषयमा विद्यावारिधिजस्तो डिग्री दिनै नमिल्ने बताउँछन् ।

साप्ताहिक अखबारहरूमा दिएको अभिव्यक्ति र भाषणका भरमा विद्यावारिधि दिन नमिल्ने कोइरालाको जिकिर छ । यो विषय प्रथमदृष्टिमै स्वीकृत गर्न नमिल्ने खालको रहेको उनले बताए ।

कहिलेकाहीँ उपयुक्त पात्र भयो भने विश्वविद्यालले मानार्थ डिग्री दिन्छ । त्यो मानार्थ डिग्री केपी शर्मा ओलीलाई नै दिन सकिने भए पनि बाटाघाटामा  गरेका कुरालाई अभिव्यक्तिका रूपमा लिन नमिल्ने उनको कथन छ ।

नेपाल संस्कृत विश्वविद्यालयमा नेपाल संस्कृत अनुसन्धान केन्द्रले पीएचडी गराउँछ । त्यही केन्द्रका प्रमुख सुदन पौडेल भने विद्यावारिधि गर्न मिल्ने भएर नै उपाधि दिइएको बताउँछन् । 

केपी शर्मा ओलीले विभिन्न सन्दर्भमा व्यक्त गरेका विचार, डकुमेन्टेसन भएका विचार पुस्तकको रूपमा प्रकाशन भएको र तिनमा नै आधारित रहेर अध्ययन गरिएको पौडेल बताउँछन् ।

अभिव्यक्तिमा पनि ‘व्यञ्जना’ खोजेको हुनाले अध्ययन झन् सान्दर्भिक भएको उनको तर्क छ । प्रधानमन्त्री समेत भइसकेका व्यक्ति भएको हुनाले त्यस्ता व्यक्तित्वको विषयमा थप अध्ययन हुनुपर्ने उनी बताउँछन् ।

तर, सुदनको जिकिरसँग पूर्व उपकुलपति कोइराला सहमत छैनन् । उनी त त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको संयोजकत्वमा, नेपाल संस्कृत विश्वविद्यालयका दुई प्राध्यापक डाक्टर राखेर तीन सदस्यीय छानबिन कमिटी बनाउनुपर्ने बताउँछन् । छानबिन समितिले अयोग्य ठहर्‍याएमा उपाधि नै खारेज गर्नुपर्ने उनको कथन छ ।

राजनीतिशास्त्र र अर्थशास्त्र विषयको विद्यार्थीले त्यस विषयमा विद्यावारिधि अध्ययन गर्न पाउने भए पनि नेपाली भाषाको विद्यार्थीले गर्न नमिल्ने उनको कथन छ ।

यसरी हेर्दा सानुमैयाले पाएको पीएचडीको उपाधि विवादमा तानिएको छ । यो विषयले विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाको विश्वसनीयतामा समेत प्रश्न उब्जाएको छ ।

भिडियो सामग्री :

 

salt training

कमेन्ट गर्नुहोस्