२८ जेठ २०८३, बिहीबार
कांग्रेसभित्रको किचलो

हारको पीडा र तिक्तताबीच १५औं महाधिवेशनतर्फ कांग्रेस, कसरी समेटिन्छ देउवा-शेखर पक्ष ? [भिडियो]

चैत ११, २०८२
काठमाडौं

मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनको कार्यतालिका पेश गरे । उनले साउनबाट वडा अधिवेशन गरेर भदौ अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने जानकारी दिए ।

थापाले प्रस्तुत गरेको कार्यतालिका अनुसार आउँदो साउन ६ गते वडा अधिवेशन गर्ने, साउन १२ गते गाउँपालिका/नगरपालिका अधिवेशन गर्ने र साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने भनिएको छ ।

यसैगरी, साउन ३० गते क्षेत्रीय अधिवेशन, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन गर्ने गगनको प्रस्ताव गरिएको छ ।

सभापति थापाले बैठकमा प्रस्ताव गरे अनुसार कांग्रेसको १५ औं महाधिवेशन भदौ २४, २५ र २६ गते काठमाडौंमा हुनेछ ।

सभापति थापाले कार्यतालिका प्रस्तुत गरेपश्चात् प्रश्न उठेको छ‚ विशेष महाधिवेशनलाई स्वीकार नगरी बाहिर बसेको असन्तुष्ट समूहलाई कांग्रेसले कसरी समेट्छ ? थापा कांग्रेसको गाडि अगाडि बढिसकेको भन्दै सबैलाई मिलाएर लैजान प्रयास गर्ने बताउँछन् ।

‘मैले सभापतिको रूपमा गाडी हाँकेको छु । अब यो गाडी रोकिँदैन । मैले भनेँ, यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन,’ सभापति थापाले भने, ‘मैले उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरेको छु । हामी सबैलाई सहभागी गराएर त्यसलाई अघि बढाएर लैजान्छौं,’ गगनले मंगलबार भने ।

२७ देखि ३० पुससम्म विशेष महाधिवेशन गर्दै गगन सभापति चुनिएका हुन् । उनको नेतृत्वमा बनेको कार्यसमितिलाई पुरानो संस्थापन अर्थात् शेरबहादुर देउवा समूहले स्वीकार गरेको छैन ।

देउवा समूह समानान्तर गतिविधि गर्दै विभिन्न तह र तप्काको बैठक बसाउने तयारीमा छ ।

गगन नेतृत्वको कार्यसमितिसामु असन्तुष्ट समूहलाई मिलाएर लैजानुपर्ने चुनौती छ । असन्तुष्टलाई मनाउन कसरी काम गर्छ त ? महामन्त्री प्रदीप पौडेल सबै मिलेर सँग–सँगै जाने, व्यवहारका कारण ठेस पुगेको छ भने त्यसलाई सच्याउनेबाहेक अर्को कुनै विकल्प नभएको बताउँछन् । पन्ध्रौं महाधिवेशनको तयारीमा लाग्ने गरी वातावरण बनाउँदै गएको उनको भनाइ छ ।

‘कोही अग्रजहरूले यो प्रक्रियागत ढंगले टुंग्याउने सन्दर्भमा कार्यशैलीको विषयमा रिजर्भेसन राख्नुभएको छ भने हामी त्यसलाई सच्याउन तयार छौं,’ महामन्त्री पौडेलले भने, ‘हामी कसैको पनि सिनियर नेतालाई अपमान गर्ने कुनै उद्देश्य छैन । पार्टीलाई कसरी व्यवस्थित र एकीकृत गर्न सकिन्छ भन्ने कुरामा मात्रै चिन्तित छौं ।’

यतिबेला कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतबाट अन्तिम फैसला नआउँदै कांग्रेस १५औँ महाधिवेशनको तयारीमा कार्यतालिका बनाएर जुटेको छ । वर्तमान कार्यसमिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुँदैछ । अहिलेको अवस्थामा कसरी नियमित महाधिवेशन सम्भव हुन्छ त ? 

जवाफमा महामन्त्री पौडेल भन्छन्- ‘यो देशमा अदालतमा भएका सबै केसहरू नटुंगिकन काम शुरू नभएको स्थिति छ र ? अदालतले टुंगो नलगाए पनि राजनीतिक दलसम्बन्धी कानून र दलको विधानअनुसार काम अघि बढाउने हो‚’ उनले थपे ।

पुरानो संस्थापन समूह अर्थात् निवर्तमान सभापति शेरबहादुर देउवा निकट मानिने मधेश प्रदेश र वाग्मती प्रदेश सभापति तथा बहालवाला मुख्यमन्त्रीहरू असन्तुष्ट पक्षलाई मनाएर मात्र एकता महाधिवेशनमा अघि बढ्नुपर्ने धारणा राख्छन् ।

मधेश प्रदेश सभापति कृष्ण यादवले विशेष अधिवेशन विधान संवत् भएको भन्दै सबैलाई समेटेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

‘हाम्रो सभापतिले असन्तुष्ट समूह र सम्पूर्ण नेतालाई मिलाएर अघि बढ्नुहुन्छ  भन्ने लाग्छ र महाधिवेशन आयोजक समिति बनाएर अघि बढे सबैले त्यसलाई आत्मसाथ गर्छन्,’ उनले भने ।

बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ अदालतमा भएको मुद्दालाई झिकेर नेपाली कांग्रेस एक ढिक्का भएर महाधिवेशन सफल बनाउन लाग्नुपर्ने बताउँछन् ।

‘सबैको महाधिवेशन हो भन्ने गरी अदालतमा भएको मुद्दालाई सबैको विन–विन अवस्था बनाएर झिक्नुपर्छ, त्यसपछि महाधिवेशनमा अगाडि बढ्नुपर्छ,' बानियाँले लोकान्तरसँग भने ।

विशेष महाधिवेशन विधानको धारालाई टेकेरै भएको हो । उक्त महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

२१ फागुनको निर्वाचनमा गगन थापाको हस्ताक्षरसहितको टिकट बोकेर १६५ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । त्यसकारण कांग्रेसलाई अब विशेष महाधिवेशनको बहसमा अल्झिएर नियमित महाधिवेशन ओझेल पार्ने छुट देखिँदैन ।

अदालतको जे आदेश आए पनि स्वीकार गर्दै दुवै समूह मिलन बिन्दुमा आउनु र महाधिवेशन गर्नु दुवै पक्षको हितमा देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्