
काठमाडौं जिल्ला प्रशासन कार्यालयले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्नुअघि पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ ।
कार्यालयले बिहीबार सूचना जारी गर्दै बिहीबार रातिदेखि गतेदेखि शुरू हुने विश्वकपका खेलहरू ठूलो पर्दामा देखाउने नाममा अनुमति नलिई भीडभाड नगर्न सम्बन्धित संघसंस्था तथा कम्पनीलाई आग्रह गरेको हो ।
प्रशासनले रातिको समयमा खेल प्रदर्शनका क्रममा समुदायमा असर पर्ने तथा शान्ति–सुरक्षा खलबल्याउन सक्ने गतिविधि हुन सक्ने भन्दै पूर्वस्वीकृतिको व्यवस्था गरिएको जनाएको छ ।
प्रत्यक्ष प्रसारणका लागि आवश्यक निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । निवेदनमा उल्लेखित सर्तका आधारमा सम्बन्धित स्थानको सुरक्षा संवेदनशीलता विश्लेषण गरी अनुमति दिइने प्रशासनले जनाएको छ ।
सूचनाको अवज्ञा गर्दै स्वीकृतिबिना विश्वकपका खेलको प्रत्यक्ष प्रसारण गरी भीडभाड गर्ने तथा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित वा गैरकानूनी गतिविधि गरे प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।
