
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सुशासन, समृद्धि र जनताको प्रगतिको विषयमा कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।
पार्टीद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले कांग्रेस सत्तामा मात्रै हैन प्रतिपक्षमा बसेर पनि रचनात्मक भूमिका निर्वाह गर्छ भन्दै जनताले अभिव्यक्त गरेको मतलाई पार्टीले सम्मान गर्दै सोहीअनुसार भूमिका निर्वाह गर्ने बताए ।
'कांग्रेस निर्वाचनका लागि मात्रै हैन, निर्वाचन नै नहुने समयमा पार्टी क्रियाशील थियो, निर्वाचन हुने वातावरण नेपाली कांग्रेसले नै तयार गरेको हो, सही विषयमा कांग्रेस सरकारको साथमा हुन्छ, लोकतान्त्रिक मूल्यमान्यता र जनताको अधिकार रक्षाका लागि कांग्रेसले प्राथमिकता दिन्छ, नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो स्रोत रेमिट्यान्स हो, अर्थतन्त्र सङ्कटको अवस्थामा छ, सङ्कटमा सहयोगी प्रतिपक्षको भूमिका निर्वाह गर्छौं,' प्रवक्ता चालिसेले भने ।
प्रवक्ता चालिसेले १६५ निर्वाचन क्षेत्रको समीक्षा गर्दै सुधार्ने र सुध्रिने प्रयास गर्ने भन्दै यो निर्वाचनको परिणाम अप्रत्याशित भएको बताए ।
'कांग्रेसले संरचनागतदेखि नीतिगत सुधारका लागि ध्यान दिन्छ, पार्टीलाई रुपान्तरण गर्न व्यापक सुधार गर्ने कार्यमा ध्यान दिन्छ,' प्रवक्ता चालिसेले भने ।
उनले देशमा बारम्बार उठेको विषय सुशासन भएको भन्दै २०४६ सालदेखि २०८२ सालसम्म सार्वजनिक तहमा बसेका व्यक्तिको सम्पति छानबिन हुनुपर्नेमा जोड दिए ।