मध्यपूर्वमा भइरहेको द्वन्द्वले नेपाली भान्सालाई महँगो बनाइदिएको छ । या भनौं, मध्यपूर्वको द्वन्द्वले नेपाली उपभोक्ताहरूलाई महँगाइमा पारिदिएको छ ।
द्वन्द्वले विश्वव्यापी रूपमा आर्थिक अस्थिरता निम्त्याउँदा नेपाल त्यसबाट चोखो रहने कुरै भएन । नेपालको अर्थतन्त्र नै आयातमा निर्भर छ । दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्नसम्म उपभोक्ताहरू आयातमा निर्भर छन् । द्वन्द्वका कारण दैनिक उपभोग्य वस्तुहरू महँगो भइरहेका छन् । पेट्रोलियम पदार्थबाहेक खाद्यान्नहरूको मूल्यमा समेत वृद्धि हुन थालेको छ । २५०/२५५ रुपैयाँ प्रतिलिटरमा पाइने खाने तेल पछिल्ला दिनहरूमा ३२५ रुपैयाँसम्म बिक्री भइरहेको छ । खाने तेलको मूल्य ३२५ रुपैयाँसम्म पुगेको खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य बताउँछन् । अन्य उपभोग्य सामग्रीहरूको पनि उत्पादन र आयातमा मूल्यवृद्धि र संकट हुने सम्भावना रहेको उनको भनाइ छ ।
नेपालमा खाने तेलका लागि चाहिने कच्चा पदार्थ मलेसिया, युक्रेन, अर्जेन्टिना, ब्राजिल, क्यानडा लगायतका देशबाट आयात हुने गर्दछन् । तर, द्वन्द्वले कच्चा तेलको आपूर्ति प्रणालीमा अवरोध पुर्याएको छ । जसले गर्दा नेपालमा दिनदिनै खाने तेलको मूल्य बढिरहेको छ । यसको सबैभन्दा ठूलो असर नेपाली उपभोक्ताको भान्सामा परेको छ । दैनिक रूपमा प्रयोग हुने खाने तेलको मूल्य बढ्नाले उपभोक्ताको मासिक खर्च बढेको छ ।
यति मात्रै होइन, मध्यपूर्व तनावका कारण नेपाली उपभोक्ता पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अभाव बेहोरिरहेका छन् । उपभोक्ताले महिनौँदेखि ग्यास नपाएको गुनासो गरिरहेका छन् । सरकारले केही गरेन भनेर भन्ने हो भने ग्यासको अभाव व्यवस्थापन गर्न आधा सिलिन्डर वितरण गर्न शुरू गरेको छ । यही एउटा काम मात्रै हो सरकारले गरेको, यसबाहेक केही निर्णय गर्नै सकेको छैन ।
भारतले द्वन्द्वको झिल्को पाउनेबित्तिकै पेट्रोलियम पदार्थको खपत घटाउन शुरू गरिसकेको थियो । यता नेपालमा भने अझै सवारी साधन जोरबिजोर चलाउने र पेट्रोलियम पदार्थको खपत घटाउने भनेर छलफल चलिरहेको छ । बेलैमा सरकारले सक्रियता नदेखाउँदा उपभोक्ताहरू महँगाइको मारमा परिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । मध्यपूर्वमा द्वन्द्व शुरू हुने बेलैमा ठोस निर्णय लिनुपर्नेमा सरकार मूकदर्शक बनेर बसेको उनको भनाइ छ ।
द्वन्द्वको अर्को प्रभाव उद्योगहरूमा पर्न थालिसकेको छ । देशमा प्लास्टिकजन्य कच्चा पदार्थको अभाव भइरहेको छ ।
कतिपय प्लास्टिकजन्य उद्योगहरू त बन्द नै भइरहेको हाइडेन्सिटी पोलिथिन पाइप म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले जनाएको छ । कच्चा पदार्थको ढुवानी अवरुद्ध भइरहेको र कच्चा पदार्थको मौज्दात सकिएकाले उद्योग नै बन्द गर्नुपर्ने बाध्यता आएको एसोसिएसनको भनाइ छ । यहाँसम्म कि अहिले उद्योगहरूले पाइरहेको कच्चा पदार्थको मूल्यमा पनि ६२ प्रतिशतको वृद्धि भएको दाबी गरिएको छ ।
द्वन्द्वको प्रभाव खाने पानीको आपूर्तिमा पनि पर्न थालिसकेको छ । विशेष गरी मिनरल वाटर र जार पानीको आपूर्तिमा समस्या देखिन थालेको हो । मिनरल वाटरमा प्रयोग हुने १ लिटरको बोतलको खरिदमा १ रुपैयाँ र जारमा ५० रुपैयाँ मूल्यवृद्धि भएको नेपाल पानी उद्योग महासंघका महासचिव ध्रुव गौतम बताए । बजारमा ४–५ दिनको लागि मात्रै बोतल र जारको स्टक रहेको उनको भनाइ छ । यही अवस्था यथावत् रहेमा पानीको आपूर्ति गर्न नसकिने उनी बताउँछन् ।
द्वन्द्वले हरेक परिवारलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको छ । पछिल्लो समय देखिएको ग्यास अभाव र अन्य खाद्यान्न सामग्रीको मूल्यवृद्धि उपभोक्तालाई त्रसित बनाएको छ । यस्तो अवस्थामा अनावश्यक ग्यासको भण्डारण नगर्न नेपाल आयल निगमले अनुरोध गरेको छ । यसका साथै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि मूल्यको अस्वाभाविक वृद्धि र कालोबजारीलाई अनुगमन गरिरहेको छ । विभागले मूल्यवृद्धि र कालोबजारीको विषयमा गुनासो गर्नका लागि अनुरोध गरेको छ ।
हेर्नुहोस्, भिडियो: