०१ असार २०८३, सोमबार

सुर्खेतको सामुदायिक वनको रकम हिनामिना प्रकरणमा ५ जनाविरुद्ध मुद्दा

चैत १९, २०८२
काठमाडौं
सुर्खेतको सामुदायिक वनको रकम हिनामिना प्रकरणमा ५ जनाविरुद्ध मुद्दा

सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको आरोपमा ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार समितिका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री र सदस्य हरिप्रसाद अधिकारीको मिलेमतोमा संस्थाको रकम हिनामिना गरिएको हो ।

आयोगले बुधबार यी चारै जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । यससँगै दर्तावाल लेखापरीक्षक ज्ञानेन्द्र बहादुर केसीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । 

आयोगका अनुसार आर्थिक २०७०/०७१ देखि २०७५/०७६ सम्म कार्ययोजना र समितिको निर्णयबिना सडक निर्माणका नाममा नक्कली कागजात तयार गरी भुक्तानी गरिएको, लेखापरीक्षण नभएको अवस्थामा समेत शुल्क भुक्तानी गरिएको तथा काठ बिक्रीबाट प्राप्त रकम समितिको खातामा दाखिला नगरिएको पाइएको छ ।

त्यसैगरी, नर्सरी व्यवस्थापन, मुद्दा तथा साक्षी खर्च, अधिवक्ता शुल्क, व्यक्तिगत जरिवाना तिर्ने लगायत विभिन्न शीर्षकमा बिल/भरपाई बिनाखर्च देखाई रकम दुरुपयोग गरिएको आयोगको अनुसन्धानबाट खुलेको छ । अध्यक्षले व्यक्तिगत प्रयोजनका लागि समेत रकम प्रयोग गरेको उल्लेख छ ।

आयोगका अनुसार विभिन्न शीर्षकमा नक्कली कागजात तयार गरी कूल १२ लाख १८ हजार ५१२ रूपैयाँ बराबरको रकम हिनामिना गरिएको देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्