
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार पौडेलले पदीय मर्यादा दुरुपयोग गर्दै अवैध रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि कूल ६ करोड २६ लाख ९३ हजार १२९ रूपैयाँ ८२ पैसा बराबरको सम्पत्तिलाई बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।
अनुसन्धानका क्रममा पौडेलले अवैध सम्पत्तिको स्रोत लुकाउन नक्कली ऋण सापटीका कागजात तयार गरी विभिन्न व्यक्तिमार्फत रकम घुमाएको देखिएको छ ।
उनले करिब २ करोड ५३ लाख रूपैयाँ बराबरको कारोबार विभिन्न तहका लेनदेनमार्फत लुकाउने, छल्ने र स्रोत परिवर्तन गर्ने प्रयास गरेको आयोगको अनुसन्धानबाट खुलेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।
यसैगरी पौडेल र उनकी श्रीमती हुमा कुमारी उपाध्यायको नाममा बैंक तथा सहकारी संस्थामा रहेको २ करोड ५१ लाख ३४ हजार ४६२ रूपैयाँ १४ पैसा अवैध रूपमा आर्जन गरिएको देखिएको छ ।
सो रकममा ब्याजसमेत जोड्दा कूल २ करोड ५८ लाख ६७ हजार ३२४ रूपैयाँ ५३ पैसा बराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ ।
आयोगले सोही रकमलाई बिगो कायम गर्दै कैद र जरिवानाको मागदाबी गरेको छ । साथै पौडेलको खातामा रहेको १ करोड ७० लाख १३ हजार ५० रूपैयाँ ७७ पैसा जफत गर्न पनि माग गरिएको छ ।
यस प्रकरणमा पौडेललाई सहयोग गरेको अभियोगमा उनकी श्रीमती हुमा कुमारी उपाध्यायसहित जमुना कुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत प्रतिवादी बनाइएको छ ।
उनीहरूमाथि क्रमशः २ करोड २३ लाख, १ करोड ६३ लाख ६ हजार तथा १ करोड ३८ लाख रूपैयाँ बिगो कायम गरी मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ ।