
विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा, उनका छोरा राहुल र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरूविद्ध साढे ७ करोड बिगो कायम गरिएको छ । अख्तियार उच्च स्रोतका अनुसार महराका बाबुछोरा, सहसचिव पोखरसहित २५ जनालाई प्रतिवादी बनाइएको छ ।
चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०७९ पुसमा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको अख्तियारको दाबी छ ।
यही प्रकरणमा महरा यसअघि पक्राउ परेका थिए । उनलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको थियो ।
जिल्लाको निर्णयविरुद्ध महरा उच्च अदालत पाटन पुगेका थिए । उच्चले उनलाई २० लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । अदालतले मागेको धरौटी बुझाएर उनी रिहा भएका थिए ।
पोखरेल भने तत्कालीन अवस्थामा त्रिवि भन्सार कार्यालयका प्रमुख प्रशासक थिए ।