
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले बुधबार खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
'...राजस्व अनुसन्धान विभागबाट अनुरोध भएको तथा ललितपुर जिल्ला अदालतबाट म्याद थप (हिरासतमा राख्न अनुमति भएको भए सोसम्बन्धी सम्पूर्ण कागजातहरूसहितको मिसिल तथा ललितपुर जिल्ला अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए सो पर्चा समेत संलग्न गरी मिति २०८३।०१।०३ गते १२ बजे सम्ममा प्राप्त हुने गरी राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट निज निवेदकलाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफ समेत झिकाई प्रस्तुत रिट निवेदन मिति २०८३।०१।०३ गतेका लागि नियमानुसार पेशी तोक्नु भनी आदेश गरी दिएको छ,' आदेशमा भनिएको छ, 'साथै निज निवेदकलाई हाल जे जुन अवस्थामा राखिएको छ । मिति २०८३।०१।०३ मा प्रस्तुत रिट निवेदनको सुनुवाइ नभएसम्म सोही अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरी दिएको छ।'


सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई २०८२ चैत १५ गते आइतबार पक्राउ गरेको थियो ।