०३ साउन २०८३, आइतबार

वायुसेवा निगमको सञ्चालक नियुक्तिमा सर्वोच्चको परमादेश, 'पिक एन्ड चुज' प्रक्रिया त्रुटिपूर्ण रहेको ठहर

जेठ २९, २०८३
काठमाडौं
वायुसेवा निगमको सञ्चालक नियुक्तिमा सर्वोच्चको परमादेश, 'पिक एन्ड चुज' प्रक्रिया त्रुटिपूर्ण रहेको ठहर

सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्तिमा योग्यताक्रम मिचेर गरिएको सरकारी निर्णयलाई बदर गरिदिएको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले २०८३ जेठ २९ गते यस्तो संक्षिप्त आदेश जारी गरेको हो ।

अदालतले छनोट प्रक्रियामा पहिलो नम्बरमा सिफारिस भएका उम्मेदवारलाई छाडेर विना कुनै ठोस आधार 'पिक एन्ड चुज' (छानी-छानी) कनिष्ठहरूलाई नियुक्त गर्ने सरकारको निर्णयलाई अपारदर्शी र त्रुटिपूर्ण ठहर गर्दै बदर (उत्प्रेषण) गरेको हो ।

साथै, अदालतले अब छनोट समितिको सिफारिसमा परेको योग्यताक्रम अनुसारका उम्मेदवारहरूलाई सुशासनको मूल्य र मान्यता अनुकूल हुने गरी आधार र कारण खुलाएर पुन: निर्णय गर्न सरकारका नाममा परमादेश समेत जारी गरेको छ ।

निगमको रिक्त पाँचवटा सञ्चालक सदस्य पदमा नियुक्तिका लागि २०८३ वैशाख १२ गते सूचना प्रकाशित भएको थियो ।

उक्त छनोट प्रक्रियामा सहभागी भई प्रस्तुतीकरण र अन्तर्वार्ता दिएका काठमाडौं-३१ का उपेन्द्रबहादुर कार्कीले आफूलाई पाखा लगाएर कनिष्ठहरूलाई नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

आफू उत्कृष्ट प्रस्तुतीकरण गरेर योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस भए पनि मन्त्रालयले आफूलाई नियुक्त नगरेको भन्दै उक्त नियुक्ति प्रक्रिया गैरकानूनी भएको दाबी कार्कीको थियो । उनले सरकारको उक्त नियुक्तिसम्बन्धी निर्णय बदर गरी आफूलाई नियुक्त गर्न उपयुक्त आदेश (उत्प्रेषण र परमादेश) माग गरेका थिए ।

यता, विपक्षी मन्त्रालयले भने वर्णानुक्रमअनुसार नाम सिफारिस भएकाले पहिलो नम्बरमा नाम हुँदैमा अन्यभन्दा योग्य भन्न नमिल्ने र नियुक्ति कानूनसम्मत भएको दाबी गर्दै रिट खारेज गर्न माग गरेको थियो ।

सर्वोच्च अदालतले मन्त्रालयको उक्त दाबीलाई अस्वीकार गर्दै नियुक्ति प्रक्रियामा त्रुटि देखिएको ठहर गरेको छ ।

वायुसेवा निगमको सञ्चालक नियुक्तिलाई पारदर्शी र योग्यतामा आधारित बनाउन पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । समितिले सबै चरण पूरा गरी २०८३ वैशाख ३१ गते योग्यताक्रम सहितको सिफारिस मन्त्रालयमा बुझाएको थियो ।

गोप्य शिलबन्दी मूल्यांकन फाराम अनुसार निवेदक उपेन्द्रबहादुर कार्कीले सबैभन्दा बढी ३६.६२५ अंक प्राप्त गरी योग्यताक्रमको पहिलो (१) नम्बरमा रहेका थिए ।

तर, तत्कालीन मन्त्रीले २०८३ वैशाख ३१ गते निर्णय गर्दा पहिलो नम्बरमा रहेका कार्कीलाई छाडेर योग्यताक्रमका दोस्रो (२), तेस्रो (३), चौथो (४), छैटौँ (६) र महिला उम्मेदवारमध्ये दोस्रो नम्बरमा रहेका व्यक्तिलाई नियुक्त गर्ने निर्णय गरेका थिए ।

यसरी पहिलो नम्बरमा रहेका व्यक्तिलाई किन नियुक्त नगरिएको हो भन्नेबारे सरकारले कुनै आधार वा कारण खुलाएको थिएन ।

यसै सन्दर्भमा अदालतले आदेशमा भनेको छ- ‘योग्यता क्रमको पहिलो नम्बरमा रहेका यी निवेदक उपेन्द्रबहादुर कार्कीलाई सञ्चालक पदमा नियुक्त गर्न नसकिने नगर्नुपर्ने कुनै आधार र कारण खुलाएको पनि देखिएन ।’

अदालतका अनुसार योग्यताका आधारमा पहिलो नम्बरमा परेका व्यक्तिलाई विना कुनै वस्तुनिष्ठ कारण पन्छाएर आफूखुसी 'पिक एन्ड चुज' गर्नु सुशासनको मान्यता विपरीत हो ।

यसरी स्वेच्छाचारी ढंगले गरिएको निर्णयलाई बदर गर्दै अदालतले अब छनोट समितिको सिफारिसमा परेको योग्यताक्रम अनुसारका उम्मेदवारहरूलाई सुशासनको मूल्य र मान्यता प्रतिकूल नहुने गरी, स्पष्ट आधार र कारण सहित पुन: निर्णय गर्न विपक्षीहरूको नाममा परमादेश जारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्