
अविरल वर्षा र त्यसबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझ एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि यस सडकखण्डमा सबै प्रकृतिका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको जानकारी दिएको हो ।
चितवन, धादिङ र आसपासका जिल्लाहरूमा पानी परिरहेको र वर्षा अझै बढ्ने पूर्वानुमान रहेकाले रातको समयमा यात्रा गर्दा हुन सक्ने जोखिमलाई कम गर्न यो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।