
जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशका पहाडी भूभागमा शनिबार र आइतबार अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि प्रदेशका आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार जारी गरेको सूचनाअनुसार कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत र म्याग्दी जिल्लामा रातिको समयमा सवारी आवागमनमा रोक लगाइनेछ।
प्राधिकरणले उक्त अवधिमा अत्यावश्यक कामबाहेक घरबाट टाढा नजान तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। बाढी, पहिरोलगायत विपद्का घटना जुनसुकै बेला हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन र विपद् पूर्वतयारीमा जुट्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शनिबार र आइतबार कास्कीबाट छुट्ने तथा जिल्ला हुँदै अन्यत्र जाने सबै रात्रिकालीन यातायात सेवा पूर्ण रूपमा बन्द गरिनेछ।
उनले सम्भावित विपद्को प्रतिकार्यका लागि जिल्लाका सबै सुरक्षा तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा राखिएको पनि बताएका छन्।