०३ असार २०८३, बुधबार
१० करोड अवैध कमाएको आरोप

काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध मुद्दा

बैशाख ३, २०८३
काठमाडौं
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध १० करोड बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रूपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।

तिवारी सरकारी सेवामा प्रवेश गरेको २०४४ भदौ १९ गतेदेखि अवकाश पाएको २०७८ वैशाख ९ गतेसम्मको ३४ वर्षे अवधिको सम्पत्ति आयोगले छानबिन गरेको थियो ।

अनुसन्धानका क्रममा सो अवधिमा तिवारी र उनको परिवारले तलब, भत्ता, जग्गा बिक्री, बैंक ब्याज लगायतका विभिन्न स्रोतबाट जम्मा १४ करोड ५१ लाख ९१ हजार रूपैयाँ वैध (कानूनी) रूपमा कमाएको देखिएको छ ।

तर, सोही अवधिमा उनले घरजग्गा खरिद, सेयर लगानी, अध्ययन, बीमा, गाडी खरिद लगायतमा २५ करोड ६ लाख ८७ हजार रूपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ ।

आफ्नो कानूनी कमाइभन्दा १० करोड ५४ लाख ९५ हजार ८७१ रूपैयाँ बढी खर्च तथा लगानी गरेको पाइएपछि अख्तियारले उक्त रकमलाई गैरकानूनी सम्पत्ति ठहर गरेको हो ।

उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तिवारीले भ्रष्टाचार गरेर कमाएको गैरकानूनी सम्पत्ति आफ्नी श्रीमती मिना देवी तिवारी र छोरी मीरा तिवारीको नाममा जोडेको हुनाले उनीहरूको नाममा राखिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि श्रीमती र छोरीलाई पनि यस मुद्दामा प्रतिवादी बनाइएको छ ।
 

 

salt training

कमेन्ट गर्नुहोस्