२८ जेठ २०८३, बिहीबार

एक जना अनमीको भरमा प्रसूति सेवा, दुर्गमका महिला सुरक्षित मातृत्वको अधिकारबाट वञ्चित

बैशाख ७, २०८३
काठमाडौं
एक जना अनमीको भरमा प्रसूति सेवा, दुर्गमका महिला सुरक्षित मातृत्वको अधिकारबाट वञ्चित

सिरहाको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् । 

सामान्यतया एउटा व्यवस्थित प्रसूतिगृह सञ्चालनका लागि कम्तीमा दुई जना स्टाफ नर्स, एक जना स्वास्थ्य सहायक (एचए) र एक जना कार्यालय सहयोगी आवश्यक पर्छ । तर, यहाँ छैटौं तहकी अनमी टीकादेवी ढुङ्गेलले एक्लै चौबिसै घण्टा सेवा दिनुपर्ने बाध्यता छ  ।

भौतिक पूर्वाधारमा कमी नभए पनि पर्याप्त दक्ष जनशक्ति नहुँदा प्रसूतिगृहमा सेवाग्राहीको सङ्ख्या निकै न्यून छ । चालु आर्थिक वर्षको नौ महिनामा यहाँ केवल १९ जनाले मात्र सुत्केरी सेवा लिएका छन् । तीमध्ये ११ जना स्थानीय ‘सदाय’ समुदायका विपन्न महिला हुन्, जो अन्यत्र जान आर्थिक वा भौगोलिक रूपमा असमर्थ थिए ।

वर्छवा स्वास्थ्यचौकीका प्रमुख महेशकुमार रजक स्वास्थ्यकर्मी अभावले रातको समयमा निकै चुनौती हुने बताउँछन् । उनले भने, ‘दिउँसो कार्यालय समयमा त हामी अन्य कर्मचारी पनि हुन्छौं, केही सहज हुन्छ । तर सुत्केरी गराउन प्रायः राति आउँछन्, जुन बेला एक जनाको भरमा सम्भव नै हुँदैन । कहिलेकाहीँ उहाँ (अनमी) पनि बिदामा बसेको बेला त संस्था नै खाली हुने अवस्था छ ।’

वर्षौंदेखि सेवा दिइरहेकी अनमी टीकादेवी ढुङ्गेलले पनि एक्लै काम गर्दाको सकस सुनाउँदै भन्छिन्, ‘दिउँसो त्यति समस्या हुँदैन, तर रातको समयमा एक्लै सुत्केरी गराउनुपर्दा डर र जोखिम दुवै हुन्छ । कोही नभएपछि बिरामीको सेवाका लागि जे–जति सकिन्छ, गरिरहेकै छु ।’

प्रसूतिगृहमा कर्मचारी अभाव देखाइरहँदा नरहा गाउँपालिकाले भने स्वास्थ्यका प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा खटाएको छ । स्वास्थ्यतर्फका सिनियर अहेव अरुणकुमार सिंहलाई जिन्सी शाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने अर्का कर्मचारी बैजनाथ साहलाई ५ नम्बर वडाको सचिव बनाइएको छ ।  

यतिमात्र होइन, अन्य तीन जना स्वास्थ्यकर्मीलाई कुनै ठोस जिम्मेवारी नदिई स्वास्थ्य शाखामा ‘काज’मा राखिएको छ । यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत आदित्यकुमार कर्ण भने जनशक्ति अभावलाई नै मुख्य कारण भएको बताए । 

उनले भने, ‘हामीसँग स्वास्थ्यतर्फका कर्मचारी कम भएकैले त्यहाँ थप जनशक्ति पठाउन नसकिएको हो । हामी व्यवस्था मिलाउँदैछौं, चाँडै थप जनशक्ति पठाउने प्रयास गर्नेछौं ।’ 

प्रशासनिक पहुँच र राजनीतिक खिचातानीका कारण दक्ष स्वास्थ्यकर्मीलाई उनीहरूको कार्यक्षेत्रभन्दा बाहिर राख्दा दुर्गमका महिला सुरक्षित मातृत्वको अधिकारबाट वञ्चित भइरहेको स्थानीयको गुनासो छ । 

स्थानीय सकलदेव यावदले भने, ‘पालिकाले पहुँचवाला स्वास्थ्यकर्मीलाई वडा र जिन्सी शाखामा आराम गराएर राखेको छ, तर हामीजस्ता गरिबका छोरीबुहारी सुत्केरी व्यथाले छट्पटाउँदा एउटा अनमीको भर पर्नुपर्छ । यो त सिधासिधा हाम्रो स्वास्थ्यमाथि खेलवाड हो ।’

एक्लो अनमीको भरमा चल्ने यस्तो सेवाले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्ने जोखिम देखिएको स्थानीय बताउँछन् । उनीहरूले तत्काल स्वास्थ्यकर्मीको व्यवस्थापन गरी प्रसूतिगृहलाई पूर्ण क्षमतामा चलाउन माग गरेका छन् ।    

salt training

कमेन्ट गर्नुहोस्