
देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना छ । देशका केही ठाउँमा हावाहुरी, असिना तथा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकीलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, मधेश, बागमती र गण्डकीको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
अबको एक हप्ता हरेक दिनजसो वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेल बताउँछन् । 'मौसमले फेरि भारी वर्षा गराउँदै, नेपालको लगभग सबै ठाउँ भ्याउलाजस्तो छ,' उनले भनेका छन्, ' वर्षा रोकिन छाँटकाँट छैन अझै धेरै दिन ।'
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले जनाएको छ ।