२५ असार २०८३, बिहीबार
अम्पायरिङमाथि प्रश्न

आईपीएलमा खेलको नतिजामै प्रभाव पार्ने अम्पायरका पाँच विवादित निर्णय

बैशाख १९, २०८३
काठमाडौं
आईपीएलमा खेलको नतिजामै प्रभाव पार्ने अम्पायरका पाँच विवादित निर्णय

विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा आधाभन्दा बढी खेल सकिएको छ ।

१४ मध्ये अधिकांश टोलीले आठ र केही टोलीले १० खेल खेलिसकेका छन् । अंक तालिकाको माथिल्लो चारभित्र पर्दै प्ले–अफ चरणमा पुग्न पनि टोलीहरूबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

आठ खेल सकेको पञ्जाब किङ्स १३ अंकसहित पहिलो र नौ खेल खेलेको साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु १२ अंकसहित दोस्रो स्थानमा छन् ।

यसैगरी, नौ खेल सकेको सनराइजर्स हैदराबाद १२ अंकसहित तेस्रो, १० खेल खेलेको राजस्थान रोयल्स १२ अंकसहित चौथो र नौ खेल सकेको गुजरात टाइटन्स १० अंकसहित पाँचौँ स्थानमा छन् ।

नौ खेल खेलेको दिल्ली क्यापिटल्स आठ अंकसहित छैटौँ स्थानमा छ । खासगरी, यी टोलीहरूबीच नै प्ले–अफ चरणमा पुग्न कडा प्रतिस्पर्धा देखिएको छ ।

यहाँ चर्चा गर्न लागिएको विषय भने केही फरक छ । यो सिजनको आईपीएल अम्पायरहरूको विवादित निर्णयका कारण पनि चर्चामा रहेको छ ।

आईपीएलजस्तो लोकप्रिय प्रतियोगितामा अम्पायरको सानोभन्दा सानो गलत निर्णय पनि चर्चामा आउनु स्वाभाविक पनि हो । यस्ता गलत निर्णयले खेलको नतिजामा समेत गहिरो प्रभाव पार्ने गर्छ ।

हालै सम्पन्न खेलमा पनि जासन होल्डरले रजत पाटिदारको क्याच लिएका थिए । अम्पायरले पाटिदारलाई आउट पनि दिए ।

null

तर, पछि रिप्लेमा हेर्दा होल्डरले क्याच लिनुअघि नै बलले भुइँ छोइसकेको देखिएको थियो । यस्तै केही अम्पायरका विवादित निर्णयका बारेमा यहाँ चर्चा गरिएको छ :

अंगकृष रघुवंशीको रन आउटले जन्माएको विवाद

लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्सबीचको खेलमा अंगकृष रघुवंशी रन आउट भएका थिए । अम्पायरले पनि उनलाई आउट दिएका थिए ।

त्यो रन आउटमा अम्पायरले 'अब्स्ट्राक्टिङ द फिल्ड' नियमलाई गलत प्रयोग गरेको आरोप लाग्दै आएको छ ।

खासमा, मोहम्मद शामीले फालेको बल स्टम्पमा लाग्नुअघि रन लिन दौडिरहेका रघुवंशीको शरीरमा ठोक्किएको थियो ।

तर, रघुवंशीले जानेर बललाई रोक्ने प्रयास गरेका थिएनन् । तर, अम्पायरले भने 'अब्स्ट्राक्टिङ द फिल्ड' नियम लागू गर्दै रघुवंशीलाई आउट घोषित गरेका थिए ।

अम्पायरको यो निर्णयलाई लिएर निकै विवाद भएको थियो । समर्थकहरूले पनि सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि व्यक्त गरेका थिए ।

यस विषयमा अम्पायरको निर्णयविरुद्ध उजुरी पनि परेको थियो । तर, एमसीसीले भने अम्पायरको निर्णयलाई नै सही ठहर्‍याएको थियो ।

जासन होल्डरको विवादित क्याच

रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीचको खेलमा रजत पाटिदारको क्याचलाई लिएर पनि निकै विवाद भएको थियो ।

रजत पाटिदारले खेलेको सट हावामा निकै माथि गएको थियो । फिल्डिङ गरिरहेका जासन होल्डरले दौडिएर डाइभ लगाउँदै क्याच लिएका थिए ।

अम्पायरले पनि पाटिदारलाई क्याच आउट घोषित गरेका थिए । तर, पछि भिडियो रिप्लेमा होल्डरले क्याच लिनुअघि नै बलले जमिन छोइसकेको देखिएको थियो ।

यतिसम्म कि होल्डर क्याच लिएर उठ्दासमेत बलले भुइँ छोइरहेको थियो । यो विवादास्पद क्याचको पनि ठुलै चर्चा भएको थियो ।

जब दिग्वेश राठीको खुट्टाले बाउन्ड्री लाइन छोयो

कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीचको खेलका क्रममा यो घटना भएको थियो । उक्त खेलमा फिन एलनको विकेट निकै विवादित बनेको थियो ।

प्रिन्स यादवको बलमा फिन एलनले छक्का प्रहार गर्ने प्रयास गरेका थिए । तर, बाउन्ड्री लाइननजिक फिल्डिङ गरिरहेका दिग्वेश राठीले फिन एलनको क्याच लिए ।

अम्पायरले पनि फिन एलनलाई क्याच आउट घोषित गरे । पछि भिडियो रिप्लेमा हेर्दा क्याच लिँदाको क्षणमा दिग्वेश राठीको खुट्टाले बाउन्ड्री लाइन छोएको स्पष्ट देखिएको थियो ।

त्यसपछि अम्पायरको निर्णयलाई लिएर निकै विवाद भएको थियो । सामाजिक सञ्जालमा पनि समर्थकले अम्पायरको निर्णयको चर्को आलोचना गरेका थिए ।

जब अम्पायरले 'नो बल' देखेनन्

चेन्नई सुपर किङ्स र गुजरात टाइटन्सबीचको खेलका क्रममा यो घटना भएको थियो । ग्राउन्ड अम्पायरबाट समय समयमा यस्तो गल्ती हुन्छ ।

तर, त्यसलाई सच्याउने जिम्मेवारी टीभी अम्पायरको काँधमा पनि हुन्छ । उक्त खेलमा तीव्रगतिका बलर अरशद खानले स्पष्ट रूपमा 'नो बल' फालेका थिए ।

तर, अम्पायरले 'नो बल' फालेको थाहा पाएनन् । टीभी अम्पायरले पनि यसमा कुनै प्रतिक्रिया दिएनन् । अरशद खानको उक्त बलमा जामी आभरटनले चौका प्रहार गरेका थिए ।

तर, पछि टीभी रिप्लेमा हेर्दा अरशद खानले 'नो बल' फालेको स्पष्ट रूपमा देखिएको थियो । त्यसपछि यो निर्णयको पनि व्यापक आलोचना भएको थियो ।

वास्तवमै नटआउट थिए त हेनरिक क्लासेन ?

जारी सिजनको आईपीएलको पहिलो खेल रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेलिएको थियो ।

त्यो खेलमा हेनरिक क्लासेनले बाउन्ड्री प्रहार गर्ने प्रयास गरेका थिए । तर, बाउन्ड्री लाइननजिकै फिल्डिङ गरिरहेका फिल साल्टले क्लासेनको क्याच लिए ।

अम्पायरले पनि क्लासेनलाई क्याच आउट घोषणा गरेका थिए । तर, पछि टीभी रिप्लेमा हेर्दा क्याच लिँदाको क्षणमा फिल साल्टको खुट्टाले बाउन्ड्री लाइन छोएको स्पष्ट देखिएको थियो ।

खासमा अम्पायरले त्यो बललाई छक्का दिनुपर्ने थियो । तर, उनले क्लासेनलाई क्याच आउट घोषित गरे । अम्पायरको त्यो निर्णयको पनि निकै आलोचना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्