२३ जेठ २०८३, शनिबार
मेडिकल काउन्सिलको एक्सन

विदेश गएर हराउने डाक्टरको लाइसेन्स खारेज, यथास्थितिमा नेपालमा बिरामी जाँच्न नपाउने

बैशाख २१, २०८३
काठमाडौं

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता र राहदानी लिएका ३६ जना चिकित्सकको दर्ता खारेज गरेको छ ।

काउन्सिलले वैशाख ११ गते १७ जना र वैशाख १८ गते १९ जना गरी कुल ३६ जना चिकित्सकको नाम दर्ता किताबबाट हटाएको हो ।

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० र नेपाल नागरिकता ऐन, २०६३ अनुसार नेपाली नागरिकता त्यागिसकेका कारण उनीहरूको पुरानो दर्ता खारेज गरिएको हो ।

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको सूचनाअनुसार सबैभन्दा धेरै बेलायत र अमेरिकाको नागरिकता लिने चिकित्सकहरू रहेका छन् ।

अमेरिकी नागरिकता लिने चिकित्सकहरूमा काठमाडौंका डा. भूपेश खड्का, डा. दीपिका ज्ञवाली, डा. निरञ्जन देव पाण्डे र डा. मनीषा हमाल रहेका छन् ।

त्यसैगरी, पाल्पाकी डा. दीपा मल्ल, सुनसरीकी डा. जेनिशा श्रेष्ठ, धादिङकी डा. मनोरमा पाण्डे, ललितपुरकी डा. सुजना के.सी. र नेपालको ठेगाना नखुले का डा. दीपेन ढकालले पनि अमेरिकी नागरिकता लिएका कारण उनीहरूको काउन्सिल दर्ता खारेज भएको छ ।

यस्तै, बेलायतको नागरिकता प्राप्त गर्नेहरूमा काठमाडौंका डा. सौरभ जी.सी. र डा. मेरिना गुरुङ, ललितपुरकी डा. तृप्ति महर्जन, कास्कीका डा. रमेशराज पहारी, डा. ममता गुरुङ र डा. जोस्ना शाही रहेका छन् ।

ब्रिटिश नागरिकता नै लिने अन्य चिकित्सकहरूमा रुपन्देहीकी डा. सुमिन्द्रा पुन, चितवनका डा. सञ्जोक घले, स्याङ्जाकी डा. सिर्जना श्रेष्ठ, पाल्पाकी डा. सुनिता विष्ट, धादिङकी डा. मोती गुरुङ, काभ्रेका डा. रोजन के.सी. र बाँकेकी डा. सलुजा सिंह थारु रहेका छन् ।

क्यानाडा र अस्ट्रेलियाको नागरिकता लिने नेपाली चिकित्सकहरूको संख्या पनि धेरै छ ।

क्यानडियन नागरिकता लिनेहरूमा बाराका डा. शैलेश कुमार जयसवाल, मोरङका डा. ऋषिराज बराल, तथा काठमाडौंका डा. सुप्रिया शाक्य र डा. ईच्छा न्यौपाने रहेका छन् ।

उता, अस्ट्रेलियन नागरिकता लिनेमा काठमाडौंकी डा. समीक्षा शर्मा, दाङका डा. रोशन भुषाल र तेह्रथुमका डा. देवराज रेग्मी रहेका छन् ।

यसबाहेक अन्य विभिन्न देशको नागरिकता लिने चिकित्सकहरूको पनि दर्ता खारेज गरिएको छ ।

न्युजिल्याण्डको नागरिकता लिनेमा चितवनकी डा. आरती रानाभाट र काठमाडौंका डा. प्रभु पाण्डे रहेका छन् ।

त्यसैगरी, युरोपेली राष्ट्रतर्फ ललितपुरका डा. प्रभास रेग्मीले जर्मन नागरिकता र बागलुङका डा. राजीव हमालले पोर्चुगिच नागरिकता लिएका छन् ।

छिमेकी राष्ट्र भारतको नागरिकता लिनेमा पर्साकी डा. हेमु चौरसिया र काठमाडौंका डा. तुषार सरवजना रहेका छन् भने नेपालको ठेगाना नखुलेकी डा. शर्मिला गुरुङले हङकङको नागरिकता लिएको काउन्सिलको सूचनामा उल्लेख छ ।

अब यी चिकित्सकहरूले नेपालमा चिकित्सा पेशा गर्न चाहेमा गैरआवासीय नेपाली (एनआरएन) वा विदेशी नागरिकको हैसियतमा नियमअनुसार पुनः दर्ता प्रक्रिया पूरा गर्नुपर्ने काउन्सिलले जनाएको छ ।

nullएनएमसीको सूचना

अहिलेसम्म ३६ जना चिकित्सकहरूको दर्ता खारेज भए पनि उनीहरूले नेपालमा काम गर्नै नपाउने भन्ने होइन । तर, त्यसका लागि अब गैर-आवासीय नेपाली (एनआरएन)को रूपमा पुनः दर्ता गराउन आउनुपर्ने हुन्छ ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवका अनुसार 'एकपटकको नेपाली सधैंको नेपाली' भन्ने सरकारी नीतिअनुसार उनीहरूले राजनीतिक अधिकारबाहेक अन्य सबै सुविधा पाउने गरी 'गैर-आवासीय नेपाली (एनआरएन)' को रूपमा फेरि काउन्सिलमा दर्ता भएर नेपालमा काम गर्न पाउनेछन् ।

मेडिकल काउन्सिलको दर्ता प्रक्रियामा दर्ता मुख्य गरी दुई प्रकारको हुन्छ । एउटा नेपाली नागरिकताको हिसाबले नेपाली दर्ता र अर्को विदेशीहरुको लागि विदेशी दर्ता ।
तर, यो गैर-आवासीय नेपाली (एनआरएन) को नयाँ ऐन आएपछि काउन्सिलले अब तीन किसिमको रजिस्ट्रेसन गर्छ । पहिलो नेपाली नागरिकताको, दोस्रो विदेशीको र तेस्रो विदेशी जो एनआरएन क्याटेगोरीमा आउँछन्, उनीहरूको ।

काउन्सिलका रजिष्ट्रार देवका अनुसार काउन्सिलको रेकर्डमा करिब ४० हजार चिकित्सक दर्ता छन् । तर, तीमध्ये कति चिकित्सक विदेशमा छन्, कुन विशेषज्ञता हासिल गरेका छन् र कतिले विदेशी नागरिकता लिइसके भन्ने यकिन तथ्यांक काउन्सिलसँग नरहेको उनले बताए ।

रजिष्ट्रार देवका अनुसार चिकित्सकलाई विदेश जान चाहिने चारित्रिक प्रमाण पत्र 'गुड स्ट्यान्डिङ सर्टिफिकेट' लिएका आधारमा हेर्दा करिब ५ देखि ६ हजार चिकित्सकहरू नेपालबाहिर छन् ।

विशेषगरी अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, यूएई, माल्दिभ्स लगायतका देशमा उनीहरू रहेको उनको अनुमान छ ।

त्यसमध्ये अमेरिकामा मात्रै करिब २ हजार देखि २५ सय सम्म  चिकित्सक रहेको उनको अनुमान छ ।

बाँकी देशहरूमा ३ हजार देखि ३५ सयसम्म चिकित्सकहरू हुनसक्ने उनी बताउँछन् ।  

तर, यी ६ हजारमध्ये  सबै अमेरिकन वा ब्रिटिस नागरिक नै भइसके भन्ने नहुन पनि सक्छ । जस्तै: माल्दिभ्स वा दुबईमा काम गर्ने चिकित्सकहरूको नेपाली नागरिकता नै रहेको उनले बताए । 

डा. अतिस देवको बाइट

यो सबै उनको अनुमान मात्र हो । विदेश पलायन भएका चिकित्सकको त्योभन्दा बढी हुन सक्छन् ।

त्यसैले जति पनि विदेश गएका चिकित्सकहरू छन्, विदेशी नागरिकता तथा पासपोर्ट लिइसके, उनीहरू एनआरएनको हिसाबले नेपालमा आए भने मात्रै काउन्सिललाई थाहा हुने देवले  बताए ।

नेपालमा कति चिकित्सक छन्, विदेशमा कति चिकित्सक छन्, कुन-कुन विधामा को-को विशेषज्ञ छन् भन्ने यकिन डेटा काउन्सिलसँग छैन ।

सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकहरूले नेपालमा अनिवार्य रूपमा गर्नुपर्ने २ वर्षे सेवा गरेर मात्र विदेश गएको काउन्सिलको भनाइ छ । किनकि, त्यो सर्त पूरा नगरेसम्म काउन्सिलले विदेश जान आवश्यक पर्ने चारित्रिक प्रमाण पत्र  'गुड स्ट्यान्डिङ सर्टिफिकेट' नै दिँदैन ।

तर, त्यसरी छात्रवृत्तिमा पढेर कबुलियातनामा बमोजिम नेपालमा गर्नुपर्ने काम नगरी छलेर वा ढाँटेर गएका चिकित्सकहरू १० जना जति हुन सक्ने काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार देव बताउँछन् ।

डा. सतिश देवको बाइट २ 

विदेशी नागरिकता लिइसकेका चिकित्सकहरूलाई आफैं स्वघोषणा गरेर जानकारी गराउन र एनआरएन दर्ता प्रक्रियामा आउन काउन्सिलले अनुरोध गरेको छ ।

हरेक वर्ष नेपालबाट विदेश जान चाहने चिकित्सकहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । सन् २०२० मा जम्मा १ हजार ८७ जना चिकित्सकले विदेश जानका लागि 'गुड स्ट्यान्डिङ सर्टिफिकेट' लिएका थिए भने यो संख्या बढेर सन् २०२३ मा २ हजार ५८२ पुगेको थियो ।

नेपाली चिकित्सकहरूको सबैभन्दा ठूलो गन्तव्य अमेरिका बनेको छ ।

सन् २०२० मा २७६ जना चिकित्सकले अमेरिका जानका लागि चारित्रिक प्रमाणपत्र लिएका थिए भने सन् २०२३ मा यो संख्या ह्वात्तै बढेर ८४३ पुगेको थियो । अमेरिकापछि बेलायत  जाने चिकित्सकको संख्या सन् २०२० मा १६२ थियो भने सन् २०२३ मा बढेर ५०५ पुगेको थियो ।

सन् २०२० मा १ हजार ८७ जना, सन् २०२१ मा १ हजार ५०२ जना, सन् २०२२ मा २ हजार १८९ जना र सन् २०२३ मा २ हजार ५८२ जनाले 'गुड स्ट्यान्डिङ सर्टिफिकेट' लिएका थिए ।

यीबाहेक नेपाली चिकित्सकहरू राम्रो अवसरको खोजीमा माल्दिभ्स, अस्ट्रेलिया र भारतजस्ता देशहरूमा पनि गइरहेका छन् । आखिर यति धेरै दुःख गरेर पढेका डाक्टरहरू किन नेपाल बस्न चाहँदैनन् त ? यसका मुख्य तीन कारण छन्:

पहिलो- असुरक्षा । उपचारका क्रममा बिरामीको तलमाथि भएमा डाक्टरमाथि हुने भौतिक र मौखिक आक्रमणले डाक्टरहरू त्रसित छन् ।

दोस्रो- पेशागत थकान नेपालका अस्पतालमा एक डाक्टरले दैनिक ८ घण्टाभन्दा बढी, अत्यधिक कार्यबोझका साथ काम गर्नुपर्छ, जसले गर्दा उनीहरू 'बर्नआउट' को सिकार भइरहेका छन् ।
र तेस्रो तथा मुख्य कारण हो- न्यून तलब । 

नेपालको तुलनामा अमेरिकामा डाक्टरको तलब करिब १६ गुणा बढी छ । सुरक्षित भविष्य र राम्रो जीवनस्तरको खोजीमा उनीहरू मातृभूमि छोड्न बाध्य छन् ।

उच्च आम्दानी, राम्रो जीवनस्तर, उन्नत तालिम र सुरक्षित कार्य वातावरणको खोजीमा चिकित्सकहरू नेपाल छाडिरहेका छन् ।

यसरी दिनहुँ डाक्टरहरू विदेश पलायन हुँदा नेपालको पहिल्यै कमजोर रहेको स्वास्थ्य क्षेत्र झनै थला पर्दैछ । अहिले औसत वर्षमा २७ सय नयाँ चिकित्सकको दर्ता हुँदा २३ सय चिकत्सकहरू विदेश जानका लागि चारित्रिक प्रमाण पत्र लिने गरेका छन् ।

जनशक्तिलाई स्वदेशमै रोक्न सरकारले सुरक्षित कार्य वातावरण, उचित तलब र वृत्ति विकासको अवसर सिर्जना गर्न ढिला भइसकेको छ ।

नेपालको जनसंख्याको आधारमा अझै पनि चिकित्सकको अभाव रहेको हुनाले चिकित्सक जस्तो जनशक्तिलाई स्वदेशमै रोक्न लक्षित नीतिहरू निर्माण गर्न राज्यले ढिलाइ गर्नुहुँदैन ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्