२४ असार २०८३, बुधबार

भारतको सेवा क्षेत्र वृद्धिदर पुनः उत्साहजनक

बैशाख २३, २०८३
काठमाडौं
भारतको सेवा क्षेत्र वृद्धिदर पुनः उत्साहजनक

बलियो आन्तरिक मागका कारण भारतको सेवा क्षेत्रको वृद्धिदर अप्रिल महिनामा पुनः उत्साहजनक रूपमा बढेको छ । मार्चमा १४ महिनाकै न्यून विन्दुमा झरेको सेवा क्षेत्रको गतिविधि अप्रिलमा सुधारिएको बुधबार सार्वजनिक एक सर्वेक्षणले देखाएको रोयटर्सले जनाएको छ । 

विश्वव्यापी मागमा आएको गिरावटका बावजुद आन्तरिक बजारको सुदृढ प्रदर्शनले समग्र क्षेत्रलाई गति प्रदान गरेको समाचारमा उल्लेख छ । यद्यपि, मध्यपूर्वमा बढ्दो अनिश्चितताका कारण आगामी वर्षका लागि व्यवसायीहरूको आशावादितामा भने केही कमी आएको छ ।

एस एण्ड पी ग्लोबलद्वारा संकलित एचएसबीसी इन्डिया सर्भिसेज पर्चेजिङ म्यानेजर्स इन्डेक्स मार्चको ५७.५ बाट बढेर अप्रिलमा ५८.८ पुगेको छ । यो तथ्याङ्क प्रारम्भिक अनुमान गरिएको ५७.९ भन्दा पनि बढी हो । 

सन् २०२१ को मध्यदेखि नै यो सूचकांक वृद्धि र संकुचन छुट्ट्याउने ५०.० को अंकभन्दा माथि रहँदै आएको छ । मागको प्रमुख मापन मानिने नयाँ व्यवसायको वृद्धिदर अप्रिलमा पछिल्लो पाँच महिनाकै तीव्र गतिमा देखिएको छ । यस विस्तारमा उपभोक्ता सेवा क्षेत्रले नेतृत्व गरेको छ भने यातायात, सूचना तथा सञ्चार क्षेत्रले त्यसलाई पछ्याएका छन् ।

अन्तर्राष्ट्रिय बिक्रीको पक्षमा भने केही सुस्तता देखिएको छ । विदेशी मागमा आएको यो गिरावट पछिल्लो एक वर्षभन्दा बढी समययताकै दोस्रो न्यून स्तर हो । सेवा प्रदायक कम्पनीहरूले यस सुस्तताको मुख्य कारण मध्यपूर्वको युद्ध र घट्दो विदेशी पर्यटक आवागमनलाई मानेका छन् । सञ्चालन खर्चतर्फ भने अप्रिलमा केही राहत महसुस गरिएको छ । मार्चमा झन्डै चार वर्षकै उच्च विन्दुमा पुगेको खर्च वृद्धिदर अप्रिलमा केही मत्थर भएको छ, तर खाद्य सामग्री, ग्यास र श्रम लागत महँगो हुँदा अझै पनि दबाब कायमै रहेको देखिन्छ ।

लागत वृद्धि भए पनि कम्पनीहरूले सेवा शुल्कमा भने खासै ठूलो भार थपेका छैनन् । बिक्री मूल्यमा भएको सामान्य वृद्धि पछिल्लो तीन महिनाकै सबैभन्दा सुस्त पाइएको छ, जसको अर्थ कम्पनीहरूले अतिरिक्त लागतको भार आफैँले व्यहोरिरहेका छन् । नयाँ व्यवसायको बढ्दो चापलाई धान्नका लागि कम्पनीहरूले अल्पकालीन कर्मचारी र कनिष्ठ प्रशिक्षार्थीहरूको भर्नामा तीव्रता दिएका छन्।

salt training

कमेन्ट गर्नुहोस्