
भारतको राजस्थान राज्यस्थित दौसा जिल्लामा दिल्ली-मुम्बई एक्सप्रेस-वेमा भीषण सडक दुर्घटना भएको छ। कोलवा थाना क्षेत्रको द्वारापुरा गाउँ नजिकै यात्रुवाहक बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा दुवै सवारी साधनमा भिषण आगलागी भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा परी हालसम्म ८ जनाको मृत्यु भइसकेको छ भने ६ जना यात्रुको बसभित्रै जिउँदै जलेर मृत्यु भएको दाबी गरिएको छ ।
समाचारअनुसार टक्कर यति शक्तिशाली थियो कि केही मिनेटमै बस आगोको गोलामा परिणत भएको थियो। दौसा जिल्ला अस्पतालमा हालसम्म ७ वटा शव पुर्याइएको छ, जसमध्ये ५ वटा शव पहिचान गर्न नसकिने गरी पूर्ण रूपमा जलेका छन् ।
दुर्घटनामा २२ जना यात्रु गम्भीर घाइते भएका छन् र उनीहरूको उपचार जारी छ। बसमा साना बच्चाहरू पनि सवार रहेको आशङ्का गरिएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रशासनले जनाएको छ।
दुर्घटनाको चपेटामा परेको उक्त बस उत्तराखण्डको हरिद्वारबाट मध्य प्रदेशको इन्दोरतर्फ जाँदै थियो। बसमा चालक र सहचालकसहित कुल ३९ जना सवार थिए, जसमा अधिकांश यात्रु मध्य प्रदेशका बासिन्दा हुन् । स्लीपर बसको डिक्कीमा सिगरेटका बक्सहरू भरिएका कारण आगो तीव्र रूपमा फैलिएको दाबी गरिएको छ।