
डिजिटल सेवामार्फत विश्वभरका नेपालीलाई जोड्दै आएको लोकप्रिय प्लेटफर्म हाम्रो पात्रोले आफ्नो रेमिट्यान्स सेवा, हाम्रो पात्रो रेमिटमार्फत् एक विशेष सामाजिक उत्तरदायित्त्व कार्यक्रमको शुरूआत गरेको छ ।
‘सेन्ड लोकल, सपोर्ट लोकल’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको हाम्रो पात्रो रेमिटको यस पहल अन्तर्गत अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्कको निश्चित अंश देशभरका निम्न वर्गीय विद्यार्थीलाई सहयोग तथा समर्थन गर्न खर्च गरिने कम्पनीले जनाएको छ ।
यस अभियानको पहिलो चरण सिन्धुपाल्चोकको चौतारा, साँगाचोकगढी नगरपालिकास्थित बाङबा आधारभूत विद्यालयका विद्यार्थीलाई आवश्यक पर्ने स्कूल ब्याग,पेन्सिल र कापी वितरण गरेर शुभारम्भ गरिएको हाम्रो पात्रोको फिनटेक अपरेसन निर्देशक सुदिना गौतमले बताइन् ।
शनिबार भएको कार्यक्रमलाई उक्त विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारजनले स्वागत र कृतज्ञताका साथ ग्रहण गरेका थिए ।
‘यस उदार सहयोगका लागि हामी हृदयदेखि नै कृतज्ञ छौं । यस्ता पहलहरूले शब्दभन्दा धेरै ठूलो अर्थ बोकेको हुन्छ, किनभने यसले हाम्रा विद्यार्थीहरूलाई टाढाबाटै भए पनि कसैले उनीहरूको भविष्यप्रति चिन्ता र माया राख्छ भन्ने अनुभूति गराउँछ’, विद्यालयका प्रधानाध्यापक निर्मला श्रेष्ठले भनिन्, ‘आगामी दिनमा पनि यस्ता प्रेरणादायी अभियान निरन्तर सञ्चालन भइरहोस् भन्ने हाम्रो अपेक्षा छ । हाम्रो पात्रो रेमिटको यो सहयोगले यी साना बाल मष्तिष्कमा आशा र उत्साह थपेको छ र कहिलेकाहीँ यही आशा नै उज्ज्वल भविष्यतर्फ अघि बढ्ने सबैभन्दा ठूलो शक्ति बन्ने गर्दछ ।’
हाम्रो पात्रो रेमिटको यस प्रयासले विपन्न तथा जेहनदार विद्यार्थीको शैक्षिक वातावरणमा प्रत्यक्ष सुधार ल्याउने विश्वास कम्पनीले लिएको निर्देशक गौतमले बताइन् ।
‘हाम्रो पात्रो रेमिटमार्फत् प्रयोगकर्ताले पैसा पठाउँदा, उक्त ट्रान्सफर केवल प्रयोगकर्ताको परिवारसम्म मात्र होइन, उहाँहरूको समुदायसम्म पुग्छ । यो अभियान हामीमाथि विश्वास राखेर कारोबार गर्ने सम्पूर्ण प्रयोगकर्तालाई धन्यवाद व्यक्त गर्ने तरिका हो’, गौतमले भनिन् ।
आगामी दिनमा यस अभियानलाई देशका अन्य दुर्गम क्षेत्रका विद्यालयमा समेत विस्तार गर्दै लैजाने हाम्रो पात्रो रेमिटको योजना रहेको पनि उनले बताइन् ।
हाम्रो पात्रो रेमिटले अमेरिका र अष्ट्रेलियाबाट सरल, सुरक्षित र द्रुत डिजिटल प्रविधिमार्फत नेपालमा रकम पठाउने सुविधा प्रदान गर्दै आएको छ ।