
सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन बिडिङ प्रणालीमा हेरफेर गरी ठेक्का हत्याउने प्रकरणमा अदालतले एक जनालाई थुनामा पठाउन आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले यस प्रकरणमा दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । देउजालाई यस प्रकरणका मुख्य अभियुक्त किटान गर्दै मुद्दा दायर भएको थियो ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार देउजासहितको गिरोहले सरकारी प्रणाली जस्तै देखिने नक्कली वेबसाइट तयार गरी त्यसमार्फत बोलपत्रसम्बन्धी विवरण संकलन गर्ने गरेको पाइएको छ ।
अदालतले राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेसहितलाई भने धरौटीमा छाड्न आदेश गरेको छ । पाण्डेलाई ४ लाख रूपैयाँ धरौटीमा छाड्न भनिएको छ ।
यसैगरी, प्रकाश ढुंगानालाई ४ लाख, सञ्जय भट्टलाई १० लाख, जीवन कुमार दासलाई ५ लाख, अमृत बोहोरालाई ४ लाख, सागर कटुवाललाई ५ लाख, अनिल श्रेष्ठलाई ४ लाख धरौटीमा छाड्न आदेश भएको छ ।
भाष्करराज अर्याललाई १० लाख, टंककुमार श्रेष्ठलाई ४ लाख, स्वदेश पोखरेल ४ लाख र ऋषिकेश गौलीलाई ४ लाख धरौटीमा छाड्न आदेश भएको छ ।