०१ असार २०८३, सोमबार

अख्तियार प्रमुख राईलाई धम्की दिने पाठक कारागार चलान

जेठ १, २०८३
काठमाडौं
अख्तियार प्रमुख राईलाई धम्की दिने पाठक कारागार चलान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले पाठकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम थुनुवा पूर्जी दिएर कारागार चलान गर्न आदेश दिएको हो ।

पाठकविरुद्ध आपराधिक षडयन्त्र, आपराधिक लाभ (एक्सटर्सन), हुण्डी, विद्युतीय कारोबार र संगठित अपराधको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । 

शुक्रबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसमा न्यायाधीश लामिछानेले पाठकलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएका हुन् ।

पाठकले इमेलबाट अख्तियार प्रमुख राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए । पाठकले एक्ट्रिमिष्ट ग्रुप नेपाल नाम गरेको अवैधानिक संगठनको स्थापना गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको निर्देशनमा राईलाई ज्यान मार्ने धम्की दिएका अनुसन्धानबाट खुलेको थियो । 

त्यतिमात्रै होइन, बयानमा पाठकले आफूलाई राईलाई ज्यान मार्ने धम्की दिएबापत अधिकारीले फिलिपिन्समा हुण्डीमार्फत् दुई करोड रूपैयाँ दिएको बयानमा स्वीकारेका थिए । 

पाठकले अख्तियारका तत्कालीन सहप्रवक्ता गणेशबहादुर अधिकारीको मोबाइलमा भारतीय नम्बरबाट सन्देश पठाउँदै असम्बन्धित व्यक्ति पक्राउ गरेर दु:ख दिएको भन्दै ज्यान लिने धम्की दिएका थिए ।

अदालतले अभियोगपत्रमा समेटिएको तथ्य प्रमाणलाई आधार मानेर पाठकलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

आदेशमा फरारको हकमा म्याद जारी गर्न, डिल्लीबजार कारागारमा थुनामा रहेका प्रदीप अधिकारीको हकमा बयानका लागि झिकाई इजलासमा पेस गर्न भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्