
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले रिट निवेदकलाई डेलिगेसन बोलाएर दरपीठ भएका रिट दर्ता गर्न निर्देशन दिएको आरोप लगाएकी छिन् ।
उनले राजनीति गर्ने भए न्यायाधीशको कोट खोलेर आउन चुनौती दिइन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बास्कोटाले कामु प्रधानन्यायाधीशले राजनीति गर्न खोजेको आरोप लगाएकी हुन् ।
‘कामु प्रधानन्यायाधीश आफैंले डेलिगेसन बोलाएर दर्ता गर्ने आदेश दिनु कत्तिको न्यायोचित छ ?,’ संसद्को कानून समितिको सभापति समेत रहेकी बास्कोटाले भनिन्, ‘कामु प्रधानन्यायाधीशले कानून दिवसको अवसरमा लडाई अझै बाँकी छ भन्नु भएको थियो । लडाई कोसित बाँकी हो ? सत्तासित लडाई बाँकी रहेको भए र राजनीति गर्न खोजेको भए कोट खोलेर आउनु होला हामी तयार छौं ।’
यसअघि कामु प्रधानन्यायाधीश मल्लले प्रधानन्यायाधीश सिफारिशविरुद्ध दर्ता हुन आएका रिट दर्ता गर्न आदेश गरेकी थिइन् ।
न्यायाधीशको च्याम्बरबाट आदेश भएको भन्दै रास्वपा सांसद यज्ञमणि न्यौपानेले पनि आपत्ति जनाएका छन् ।