०८ असार २०८३, सोमबार

बलात्कार, हत्या र ‘सुसाइट’बाट बाँचेका अभियुक्त ६ वर्षपछि पक्राउ !

'सुसाइट नोट'मा लेखेका थिए– 'अब स्वर्गमै भेटौँला, आईलभयू अनिता'
असार ३, २०८३
काठमाडौं
बलात्कार, हत्या र ‘सुसाइट’बाट बाँचेका अभियुक्त ६ वर्षपछि पक्राउ !

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ५ मा ६ वर्ष अघि एक महिलाको बलात्कार र हत्या गरेको आरोपमा फरार रहेका वीरेन्द्रकुमार यादव पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय महेशपुर पतारको विशेष टोलीले लामो अनुसन्धानपछि यादवलाई नियन्त्रणमा लिएको हो ।

२०७६ कात्तिक २१ दिउँसो साढे दुई बजे स्थानीय रामआशिष यादवको खेतमा अनितादेवी सदाय मृत फेला परेकी थिइन् । सिरहाकै बरियारपट्टी–५ की अनितामाथि यादवले २०७६ असोज ३० गते घरमा सुतिरहेका बेला धारिलो हतियार देखाएर बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।

प्रहरीले यादवको खोजी गरिरहेकै थियो । कात्तिक २६ गते राति यादव आफ्नै कोठामा विष सेवन गरेको अवस्थामा भेटिए । यादवकै कोठाबाट प्रहरीले अनिताले प्रयोग गर्ने मोबाइल समेत बरामद गर्‍यो ।

प्रहरीले यादवको कोठा खानतलासी गर्दा सुसाइट नोटसमेत फेला पार्‍यो । नोटमा यादवले अनितालाई आफैंले मारेको र पश्चातापले आफूले पनि आत्महत्या गरेको भनेर उल्लेख गरेका थिए ।

विष सेवन गरेको अवस्थामा भेटिएका उनलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । उपचारपछि उनी सम्पर्कविहीन बनेका थिए ।

यादवले लेखेको सुसाइट नोट उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने, ‘तिमीले बलात्कारको उजुरी प्रहरीमा दिन नहुने, त्यही भएर बाध्य भएर मैले मार्नैपर्‍यो, अब म पनि बाँचेर काम छैन, अब स्वर्गमै भेटौँला, आईलभयू अनिता ।’

प्रहरीले यादवको कोठाबाट अनितालाई घाँटी कसेर मार्दा प्रयोग भएको तामाको नांगो तारलगायत अन्य सामाग्री समेत यादवको कोठाबाट बरामद भएको थियो ।

यो बीचमा यादव कहिले भारत जाने त कहिले गाउँमै आएर लुकीछिपी बस्दै आएका थिए । प्रहरीले पुराना ‘पेन्डिङ’ केस खोतल्ने क्रममा यादव गाउँमै रहेको सूचना पाएपछि उनलाई पक्राउ गरेको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक वासुदेव पाठकले दिए ।

उनका अनुसार यादवलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारमा लगेर अनुसन्धान भइरहेको छ ।

यसअघि इप्रका महेशपुर पतारका इन्चार्ज प्रहरी निरीक्षक विशाल मल्लको टोलीले सिसरहाको चर्चित आनन्दी देवी सदायको जबरजस्ती करणीपछि आत्महत्या घटनामा संलग्न अभियुक्तहरूलाई भारतको गुजरातबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्