केन्द्रीय कारागार, जगन्नाथदेवलस्थित महिला बन्दीगृहबाट फरार भएकी सपना तामाङ आइतबार राति पक्राउ परेकी छन् । प्रहरी निगरानी, काँडेतार र उच्च सुरक्षा व्यवस्थाबीच उनी कसरी भाग्न सफल भइन् भन्ने विषय अहिले अनुसन्धानको केन्द्रमा पुगेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी सन्तोष खड्काका अनुसार २५ वर्षीया सपना असनस्थित प्रेमीको डेरामा लुकेको अवस्थामा पक्राउ परेकी हुन् ।
नुवाकोट, विदुर नगरपालिका–१३ घर भएकी उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भुक्तान गरिरहेकी थिइन् ।
प्रहरीका अनुसार भोजपुर घर भई असनमा डेरा गरी बस्ने समीर श्रेष्ठसँग उनको जेलमै चिनजान भएको थियो । समीरकी आमा बम विष्फोट घटनामा दोषी देखिएपछि कारागारमा कैद सजाय भोगिरहेकी थिइन् । आमा भेट्न जाने क्रममा सपनासँग चिनजान हुँदै उनीहरूबीच प्रेम सम्बन्ध विकास भएको एसएसपी खड्काले बताए ।
उनकै उक्साहटमा सपना जेलबाट भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फरार भएपछि सपना आफ्ना प्रेमी समीरको असनस्थित डेरामा गएर बसेकी थिइन् ।
कारागार प्रशासक कृष्ण चापागाईंका अनुसार सपनालाई पुन: कारागारमा फर्काइएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।
बालिका हत्या, अपहरण र डाँकाचोरी मुद्दामा जन्मकैद सजाय भोगिरहेकी सपना यसअघि पनि जेलबाट फरार भएकी थिइन् । दोस्रोपटक पनि उनी भाग्न सफल भएपछि कारागारभित्रको सुरक्षा संयन्त्र र प्रहरी समन्वयमाथि प्रश्न उठेको छ ।
कारागार प्रशासनका अनुसार शनिबार बिहान करिब साढे १ बजे सपना कारागारको पछाडिपट्टिको पर्खाल नाघेर फरार भएकी थिइन् । सीसीटीभी फुटेजमा उनी पर्खाल चढेर बाहिरिएको देखिएको प्रशासनले जनाएको छ ।
जेलर चापागाईंका अनुसार घटनाले सामान्य लापरबाहीभन्दा योजनाबद्ध तयारीको संकेत गरेको छ । ‘सीसीटीभी फुटेज हेर्दा लामो समयदेखि योजना बनाएर उपयुक्त अवसर कुरेको देखिन्छ,’ चापागाईंले लोकान्तरसँग भने ।
सपना पहिलोपटक २०८२ भदौ २४ गते ‘जेनजी’ समूहको प्रदर्शनका क्रममा जेल प्रशासनले कैदीलाई खुला स्थानमा निकालेका बेला फरार भएकी थिइन् । त्यसको दुई महिनापछि रसुवा प्रहरीले उनलाई धुन्चेबाट पक्राउ गरेको थियो ।
उनी रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया सुमिना तामाङको हत्या अभियोगमा दोषी ठहर भएकी हुन् । प्रहरीका अनुसार २०७७ सालमा सुनको टप लुटेपछि घटना सार्वजनिक हुने डरले उनले बालिकाको हत्या गरेकी थिइन् ।
रसुवा जिल्ला अदालतले उनलाई अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँकाचोरी मुद्दामा दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको थियो ।
प्रहरी अनुसन्धानले सपना किशोर अवस्थादेखि नै चोरी तथा डकैतीका घटनामा संलग्न रहेको देखाएको छ । पटक–पटक पक्राउ परे पनि सुधारको मौका दिँदै छाड्ने प्रवृत्तिले अन्तत: उनी गम्भीर अपराधसम्म पुगेको प्रहरी अधिकारीहरू बताउँछन् ।
सुन्धारा कारागारको सुरक्षा जिम्मा नेपाल प्रहरीका डीएसपी शैलेश न्यौपानेको नेतृत्वमा रहेको थियो । तर, कैदी फरार हुँदासमेत सुरक्षाकर्मी बेखबर रहेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयले आन्तरिक अनुसन्धान थालेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी प्रवीण धितालका अनुसार सपना कसरी भाग्न सफल भइन् र त्यसमा सुरक्षाकर्मीको कमजोरी थियो वा थिएन भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।
भिडियो सामग्री :