
द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ । नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई आवेदन दिन आह्वान गरिएको आयोजकले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । आवेदन दिने अन्तिम मिति जेठ २५ सम्मलाई तोकिएको छ ।
प्रतियोगिताको ग्राण्ड फिनाले आगामी साउन १६ गते शनिबार हुनेछ ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्ष हुनुपर्नेछ । आवेदकसँग नेपाली नागरिकता अनिवार्य रहेको छ । विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डका आधारमा आवेदन दिन सक्नेछन् । आवेदन दर्ता निःशुल्क राखिएको आयोजकले जनाएको छ ।
यस वर्षको प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल गरी तीन जना विजेता छनोट गरिनेछन् ।
प्रतियोगिताका लागि मुख्य शीर्ष प्रायोजक तथा सह-प्रायोजकका रूपमा रहेका छन् । नटराज ज्वेलर्स गत वर्षदेखि क्राउन पार्टनरको रूपमा आबद्ध रहेको बताइएको छ ।
मिस नेपालको खोज अभियान विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा सञ्चालन गरिनेछ । साथै काठमाडौंका १० वटा कलेजमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अन्तिम अडिसन जेठ २९ गते काठमाडौंमा आयोजना हुनेछ । छनोट भएका प्रतिस्पर्धीहरूले ग्राण्ड फिनालेअघि विशेष प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।