
अमेरिका र क्युबाबीच बढ्दो तनावका बीच अमेरिकी सेनाले क्युबाली जलक्षेत्र नजिकै आफ्ना अत्याधुनिक जासुसी विमान र ड्रोनहरूको सक्रियता बढाएको छ।
वासिङ्टनले क्युबाको कम्युनिस्ट नेतृत्वमाथि दबाब बढाउन रणनीतिक रूपमा यी उडानहरूको लोकेसन (स्थान) सार्वजनिक रूपमा 'ब्रोडकास्ट' गरिरहेको पाइएको बीबीसीले समाचार छापेको छ ।
विमानको मार्ग पछ्याउने वेबसाइट फ्लाइटराडर-२४ को तथ्याङ्कलाई बीबीसी भेरिफाईले गरेको विश्लेषण अनुसार, गत मे ११ देखि अमेरिकी नौसेनाका कम्तीमा पाँचवटा 'पी-८ए पोसाइडन' जासुसी विमान र तीनवटा 'एमक्यू-४सी ट्राइटन'ड्रोनहरूले क्युबा नजिकैको क्यारिबियन क्षेत्रमा निरन्तर निगरानी गरिरहेका छन्। केही उडानहरू क्युबाको मुख्य भूमिबाट मात्र ५० माइल (८० किलोमिटर) को दूरीसम्म पुगेका छन्।
ड्रोन विज्ञ डा. स्टिभ राइटका अनुसार, सैन्य विमानहरूले आफ्नो 'ट्रान्सपोन्डर' खुला राखेर उडान भर्नु एक नियोजित कदम हो। यसको माध्यमबाट अमेरिकाले क्युबाली सरकारलाई आकाशमा हाम्रो आँखा छ र हामी कडा निगरानी गरिरहेका छौँ भन्ने स्पष्ट मनोवैज्ञानिक सन्देश दिन खोजेको देखिएको उनको भनाइ छ ।
यो सैन्य सक्रियताको मुख्य उद्देश्य क्युबामाथि लगाइएको तेल नाकाबन्दीलाई थप प्रभावकारी बनाउनु रहेको विज्ञहरूको बुझाइ छ। विशेष गरी भेनेजुएला जस्ता सहयोगी राष्ट्रहरूबाट क्युबातर्फ हुने इन्धन आपूर्तिको जहाजहरूलाई रोक्न र निगरानी गर्न यी अत्याधुनिक ड्रोन र जेटहरू परिचालन गरिएको बताइएको छ।