
दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर (लु)का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र लुपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ ।
भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण लुहरू पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको देखाएको छ ।
एक अर्ब ४० करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रका विभिन्न शहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनाएको छ ।
दक्षिणी राज्य तेलङ्गानामा सबैभन्दा बढी मृत्यु दर्ता भएको छ । त्यहाँका राजस्वमन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गरे ।
उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा गर्मीको तीव्रता अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै समयमै चेतावनी प्रणाली र सावधानी उपायहरू अपनाउन निर्देशन दिइएको छ ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) गराउन सक्छ, जसले रगत बाक्लो बनाउने र गम्भीर अवस्थामा अङ्गहरू काम गर्न छोड्ने जोखिम बढाउने गर्छ ।