१३ साउन २०८३, बुधबार

फासियानको यात्रा विवरण अब नेपाली भाषामा

जेठ १२, २०८३
बुटवल
फासियानको यात्रा विवरण अब नेपाली भाषामा

बौद्ध संस्कृति तथा पुरातत्वको लागि महत्त्वपूर्ण चिनियाँ ग्रन्थ फु गो ची नेपाली भाषामा अनुवाद गरिएको छ ।  

बौद्ध चिनियाँ तीर्थयात्री भिक्षु फासियानले १६ सय वर्षअघि बौद्ध राज्यहरूको भ्रमण गरी त्यसको यात्रा विवरण लेखेका थिए । बौद्ध पुरातत्वको क्षेत्रमा यो महत्त्वपूर्ण र दुर्लभ ग्रन्थ मानिन्छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले बेइजिङ लोङमिङह नेटवर्क कम्पनी, चीनको सहकार्यमा पुस्तक नेपालीमा अनुवाद गरेको हो । 

विश्वविद्यालयका सहप्राध्यापक डा. सागर न्यौपाने र सहायक निर्देशक चुरामणि पोखरेलले अनुवाद गरेको बौद्ध राज्यहरूको अभिलेख नामक पुस्तक सोमबार  लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ ।

तीर्थयात्री फासियानको यात्रा विवरण लेखिएको अभिलेखकै आधारमा बुद्ध जन्मस्थल लुम्बिनी, शाक्यहरूको राजधानी तिलौराकोट, अस्तुधातु राखिएको स्थान रामग्रामका साथै भारतमा रहेका बौद्ध स्थलहरूको पुरातात्त्विक पहिचान भएको छ । 

अभिलेख फ्रेन्च, अंग्रेजी र हिन्दी भाषामा अनुवाद गरिएको थियो । चिनियाँ लिपिबाट पहिलो पटक नेपालीमा अनुवाद गरिएको अनुवादक न्यौपानेले जानकारी दिए । ‘हामीले चीनको सिन, चिन, मिङ र छिङ वंशकालमा प्रकाशित चिनियाँ लिपिकै आधारमा अनुवाद गरेका छौं’, उनले भने ।

पुस्तक विमोचन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले बौद्ध इतिहासमा फासियान र ह्वेनसाङ्गको दस्तावेजसहितको यात्रा विवरण महत्त्वपूर्ण रहेको बताए । 

बौद्ध राज्यहरूको अभिलेख पुस्तकले अध्ययन अनुसन्धानमा संलग्न नेपाली अनुसन्धानकर्तालाई सहज हुने उनले बताए । फासियानले पुस्तकमा तत्कालीन बौद्ध राज्यहरूको सांस्कृतिक तथा आर्थिक अवस्थाका साथै बौद्ध स्थलहरूको विषयमा परिचर्चा गरेकाले नेपाली भाषामा अनुवाद हुनु महत्त्वपूर्ण कार्य रहेको उनले बताए ।

सिल्करोड सांस्कृतिक कार्य कमिटी एवं चीन संस्कृति प्रवर्द्धन सोसाइटीका निर्देशक साङ्ची चसीले फासियानको पुस्तकले शब्दहरू मात्र होइन, सभ्यताको सम्झना र मित्रताको निरन्तरता पनि बोकेको बताइन् । 

सियानदेखि जुआनजाङसम्म, प्राचीन सिल्क रोडदेखि आजको बेल्ट एन्ड रोड इनिसिएटिभसम्म, चीन र नेपालले सांस्कृतिक आदानप्रदानमार्फत सधैं एकअर्कालाई उज्यालो पारेको भन्दै उनले लङमिङ्गह नेटवर्क टेक्नोलोजी कम्पनी लिमिटेडले यस अनुवादको प्रकाशनलाई शुरूआत विन्दुको रूपमा प्रयोग गरेकोमा धन्यवाद दिइन्  ।

त्यस्तै, लङमिङ्गह नेटवर्क कम्पनीका निर्देशक जु युले  लुम्बिनी बौद्ध विश्वविद्यालयसँग थप चिनियाँ र नेपाली सांस्कृतिक क्लासिकहरूको पारस्परिक अनुवाद र प्रसारलाई प्रवर्द्धन गर्न काम जारी राख्ने आशा राखिन् ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले बौद्ध संस्कृतिको पहिचान, अध्ययन अनुसन्धानमा यो पुस्तक महत्त्वपूर्ण हुने बताए । विश्वविद्यालयले निरन्तर रूपमा यस्ता महत्त्वपूर्ण ग्रन्थको अनुवाद गर्दै जाने बताए । 

लुम्बिनी अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गीतु गिरीले फासियानको यात्रा विवरण बौद्ध इतिहासकै महत्त्वपूर्ण दस्तावेज भएको बताइन् । अनुसन्धान केन्द्रले यस्ता थुप्रै प्राचीन ग्रन्थ अनुवाद गर्ने काम जारी राखेको उनले बताइन् । 

सोही अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा ४० लाख रकमको फासियान तथा ह्वेनसाङ अनुसन्धान कोष स्थापना गरिएको छ । चिनियाँ दाताहरूको सहयोगमा यो कोष स्थापना गरिएको हो । सो कोषको रकम विश्वविद्यालयको योजना अनुसार अनुसन्धान कार्यमा खर्च गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्