
नेपाली कांग्रेसले देशभर र विदेशमा रहेका योग्य नेपाली नागरिकहरूका लागि नयाँ क्रियाशील सदस्यता खुला गरेको छ।
कांग्रेसको सोमबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकले नयाँ सदस्य बन्न चाहनेहरूका लागि आवेदन प्रक्रियालाई सहज र प्रविधिमैत्री बनाउने निर्णय गरेको हो।
पार्टीद्वारा जारी विज्ञप्ति अनुसार नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउने कुनै पनि नेपाली नागरिकले अब सजिलै कांग्रेसको सदस्यताका लागि आवेदन दिन सक्नेछन्।
सदस्यता लिन इच्छुक व्यक्तिहरूले पार्टीको आधिकारिक वेबसाइटमार्फत सरल र सहज रूपमा आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ। यसअघि सदस्यता वितरणमा देखिने गरेका झन्झटहरूलाई हटाउन र नयाँ पुस्तालाई पार्टीमा आकर्षण गर्न यो अनलाइन प्रणाली प्रभावकारी हुने विश्वास कांग्रेसको छ ।